आहा ! रारा गोल्ड कप सम्म प्यारापिट १३ हजार ५ सय सिट क्षमताको हुन्छ : सदस्य सचिव सिलवाल

दीननाथ बराल, पोखरा न्यूज – ०८ ,फागुन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले आहा रारा गोल्ड कप शुरु हुने  मिति सम्ममा पोखरा रंगशालाको  फुटवल प्यारापिट १३ हजार ५ सय सिट क्षमताको हुने बताएका छन् ।

अहिले करिव ८ हजार दर्शक सिट क्षमता रहेको पोखरा रंगशालाको  फुटवल प्यारापिटको क्षमता बढाएर  फागुन २२ गते सम्म  १३ हजार ५ सय पुर्‍याइने  सदस्य सचिव सिलवालले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै सदस्य सचिव सिलवालले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट निर्माण गर्ने भनिएकोमा सो संख्या वृद्धि गरेर चैत मसान्त सम्म  २० हजार सिट क्षमताको पुर्‍याइने दावी गरे ।

पोखरा रंगशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणको लागि  खेल हुँदा निश्चित रकम लिने र मर्निङवाक गर्दा पनि निश्चित शुल्क लिने व्यवस्था गर्नुपर्ने सदस्य सचिव सिलवालले बताए । पोखरा रंगशालामा दीर्घकालिन रुपमा पार्किङको सुविधा हुने गरी नयाँ संरचना निर्माण गर्ने आफ्नो योजना भएको सदस्य सचिव सिलवालले बताए ।

सिलवालले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशका सबै जिल्लामा कम्तिमा एक खेल हुने गरी तयारी शुरु गरिएको समेत बताए । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि सम्भावना भएका प्रदेशका हरेक जिल्लामा न्यूनतम एक खेल हुने गरी तयारी गरिएको  सदस्य सचिव सिलवालले जनाए।

उनले भने “ १३ औं साग काठमाण्डौं, पोखरा र जनकपुरमा सम्पन्न भएसंगै अब हाम्रो ध्यान नवौं राष्ट्रिय खेलकुद गर्न तर्फ केन्द्रित भएको छ, हामी गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमणको क्रममा सम्भावना भएका जिल्लाको खोजि अभियानमा छौं, कास्कीका गाउँ गाउँबाट विभिन्न खेलहरु आयोजना गर्न माग भएको छ ।” २०७९ मा १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने हुदा उक्त क्षेत्रमा हाल खेलकुदको भौतिक संरचनाको विकासको हिसाबले जिरो लेवलमा भएकोले खेलकुदको भौतिक संरचनामा राखेपको ध्यान यस बर्षबाट गएको उनले बताए ।

पोखरा रंगशालामा दुई होलको गल्फ प्रशिक्षण केन्द्रको रुपमा समेत विकास गर्न आफुहरु लागेको बताउदै सदस्य सचिव सिलवालले पोखरा रंगशालामा स्वीमिङ पुल र प्यारापिटसहितको क्रिकेट मैदान निर्माणको काम अब छिट्टै सुरु हुने जनाए । १३ औं साग पछि खेलकुदको गतिविधि बढेसंगै खेलकुदमा धेरैको चासो बढेको दाबी गर्दै सदस्य सचिव सिलवालले पोखरा क्षेत्र भित्र रहेका सार्वजनिक खेल मैदान संरक्षणमा चासो देखाएका छन् ।

पोखराको पृथ्बीनारायण क्याम्पसको अन्नपूर्ण रंगशाला, पोखरा अम्मरसिंह नमुना माविको अम्मरसिंह खेल मैदान संरक्षण र सम्बर्धनमा स्थानीयको समेत ध्यान जानुपर्नेमा उनले जोड दिए । आगामी जुलाईमा हुने ओलम्पिकमा नेपालबाट हालसम्म ३ जना मात्र पक्का भएको बताउदै सदस्य सचिव सिलवालले स्वीमिङमा महिला पुरुष दुई र एथ्लेटिक्समा एक जना गरी तीन जनाको विदेशमै प्रशिक्षण गर्न सुरु गरिएको जनाए । ओलम्पिकमा सहभागि हुन सक्ने सम्भावना भएका करिब २० जना खेलाडीहरुलाई हाल बन्द प्रशिक्षणमा राखिएको उनले जनाए ।

पोखरा रंगशालामा सुटिङको प्रशिक्षण केन्द्र निर्माणको लागि यो हप्तामा टेण्डर गर्ने भएको सदस्य सचिव सिलवालले बताए । १३ औं सागमा सरकारसँग माग गरे भन्दा ७ करोड ९३ लाख बढीको काम भएको दाबी गर्दै उनले केही बिल भरपाई फस्यौंट नगर्दासम्म बाँकी २० प्रतिशत रकम भुक्तानीमा हाल रोकेको दाबी गरे । साग सम्पन्न भएको मितिले ९० दिन भित्र सम्पूर्ण खर्च आय व्यय सार्वजनिक गर्ने उनले दाबी गरे ।

सदस्य सचिव सिलवालले नियमित रुपमा नविकरण र अडिट नगर्ने खेलसंघका पदाधिकारीलाई विदेश जान रोक लगाउने चेतावनी समेत दिए  । सवै खेलसंघहरुलाई तीन महिना भित्र आफ्नो प्रगति विवरण सहितको निर्वाचन गर्न दिएको निर्देशन अनुसार अघि बढ्न आग्रह गर्दै सदस्य सचिव सिलवालले तीन महिना भित्र भावी कार्ययोजना सार्वजनिक तथा नविकरण नगर्ने खेल संघबिरुद्ध राखेपले राम्रै कारवाही गर्ने चेतावनी दिए ।

सम्बन्धित न्यूज

Back to top button