कोरोना संक्रमणसँगै बढे अमेरिकामा एसियाली माथि दुर्व्यवहारका घटना

पोखरा न्यूज – ०९ ,फागुन । अमेरिकाको न्युयोर्कमा एक मास्क लगाएर हिडिँरहेकी महिला माथि एक अपरिचित पुरुष जाइलागे । कारण थियो उनले लगाएको मास्क र उनको एसियाली पहिचान ।

लस एन्जेलसमा अर्का एक पुरुषले आफ्ना सहयात्रीसँग घोषणा गरे चिनियाँहरु सबैभन्दा फोहोरी हुन्छन् र त्यहीबाट सबै रोगहरु उत्पन्न भएका छन् । एक एसियाली छेवैमा रहँदा उनलाई सुनाउने हेतुले ती व्यक्तिले अङ्ग्रेजीमा हेट स्पीच अर्थात घृणाजन्य वाक्यहरु प्रयोग गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्विटरमा #JeNeSuisPasUnVirus नामक ह्यासट्याग नै बनेको थियो जसको फ्रेन्च भाषामा अर्थ हुन्छ “म भाइरस हैन” ।

अर्को एक रेकर्डेड संवादमा इन्डियानाको एक होटलमा रुम खोज्दै गएका २ एसियालीलाई गरिएको लामो सोधखोज सुन्न सकिन्छ । उनीहरुलाई होटलका प्रतिनिधिले चीनबाट आएका सबैलाई दुई हप्ता क्वारेन्टिनमा राख्न निर्देशन आएको बताए । त्यस पछि त्यो होटल छाडेर आसपासको होटल पुगेका उनीहरुले अन्त पनि त्यस्तै व्यवहार महसुस गरे । कतै त “नो एसियन अलाउड” अर्थात एसियालीलाई प्रतिबन्धसम्मको जवाफ उनीहरुले पाए ।

अमेरिकामा सञ्चालित चिनियाँ होटेलको व्यथा अझ गम्भीर छ । भाइरसको प्रकोप शुरु भएपछि व्यापारमा ७० प्रतिशतसम्मले गिरावट आएको उनीहरुले बताएका छन् । एडभान्स बुकिङ गरेका ग्राहकलेसमेत धोका दिएको उनीहरुको गुनासो छ । यसरी व्यापारमा गिरावट कहिलेसम्म आउने पत्तो नपाउँदा उनीहरुलाई जीवन धान्नसमेत कठिन अवस्था आउन थालेको उनीहरुले बताएका छन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएभन्दा डरलाग्दो ढङ्गले अमेरिकामा एसियाली मुलका मानिसमाथि दुर्व्यवहार फैलिन थालेको त्यहाँका एसियाली समुदायले महसुस गरेका छन् । सार्वजनिक स्थलमैसमेत यस्ता आक्रमण हुँदा एक्लै यस्ता घटना भए के होला भनेर उनीहरु थप त्रसित छन् ।

अत्याधुनिक हातहतियारमा सहज पहुँच भएको अमेरिका जस्तो देशमा अल्पसंख्यक समुदायमाथि कुनै पनि बेला डरलाग्दो हमला नहोला भन्न सकिन्न । अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भड्किला तथा उत्तेजक अभिव्यक्तिले यस्ता घटनालाई अझ प्रेरित गर्न सक्दछ । ट्रम्पले हिजै मात्र कोरियन चलचित्रले ओस्कार जितेको सन्दर्भमा नकारात्मक टिप्पणी गर्दै आफ्नो व्यापार सम्बन्ध बिग्रिएको देशको चलचित्रलाई किन ओस्कार दिइयो भनेर सोधेका थिए ।

यसै सन्दर्भमा न्युयोर्क प्रहरीले यस्ता दुर्व्यवहारका घटना आफुले भोगे तुरुन्त प्रहरीलाई खबर वा रिपोर्ट गर्न अनुरोध गरेको छ । त्यस्तै यस्ता घटना आसपासमा भइरहेको देखे पनि सके सहयोग गर्न नत्र प्रहरीलाई तुरुन्त खबर गर्न पनि प्रहरीले निर्देशन जारी गरेको छ ।

(एजेन्सीको सहयोगमा पोखरा न्यूजद्वारा तयार )

सम्बन्धित न्यूज

Back to top button