शिवरात्रीमा पोखरामा शिव दर्शन यात्रा

दीननाथ बराल, पोखरा न्यूज – ०९ ,फागुन । महाशिवरात्री पर्वको अवसरमा पोखरामा शुक्रबार शिव दर्शन यात्रा कार्यक्रम आयोजना गरिएको छ । धार्मिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले पोखराको लामाचौर तथा बाटुलेचौरका ५ वटा मन्दिरमा कार्यक्रम भएको कार्यक्रम संयोजक दीलबहादुर थापाले बताए ।

नव आर्दश सामुदायिक विकास समाजको अगुवाइमा पोखरामा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सामुहिक सहभागिता र विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम भएको नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।

महाशिवरात्रीको अवसरमा कर्णेश्वर शिवालय मन्दिर पोखरा तुलसीघाटबाट विधिवत शुभारम्भ भई लामाचौर बाटुलेचौर क्षेत्रमा रहेका महेन्द्रेश्वर शिवालय, पोखरा-१६ तुलसीघाट, पोखरा-१९ जलेश्वर शिवालय हुँदै पोखरा-१९ को गोष्तेघाटको सर्वेश्वर शिवालय र पोखरा-१६ को लामाचौर शुरथेश्वर शिवालयमा पुगी यात्राको औपचारिक समापन भएको कार्यक्रमका प्रचार संयोजक बुद्धि बहादुर क्षेत्री खत्रीले बताए ।

सबै शिवालयहरुमा विधीपूर्वक नियमित पुजाअर्चना, रुद्री पाठ, हवन तथा चलन चल्ती अनुसारको पूजापाठ भएको उनले जनाए । भक्तजनहरुलाई मन्दिरहरुमा दुध र पानी चढाउने व्यवस्था मिलाउनुको साथै भजनकृतनसमेत संचालन गरिएको  प्रचार संयोजक खत्रीले बताए । करिब ५ किलोमिटर कलश सहितको शोभायात्रा भएको उनले जनाए ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा भएको कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।  राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ काठमाण्डौंको विशेष सहयोगमा ज्येष्ठ नागरिक मञ्च कास्कीको सह -आयोजनामा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम भएको हो । समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको थियो ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदाश श्रेष्ठले कार्यक्रममा बोल्दै नेपाली परम्परा अनुसार शिवरात्री पर्वलाई हर्ष  उल्लाहासका साथ मनाउन आग्रह गरे । केदारेश्वर महादेवमणि मन्दिरका पिठाधिश डा. लेखनाथ आचार्यले पछिल्लो क्रममा शिवरात्री पर्वको अवसरमा विकृति विसङगति मौलाउन लागेकोमा चिन्त्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, पोखरा-१९ का वडा अध्यक्ष शोभामोहन पौडेल, ब्रह्रमकुमारी इश्वरीय विश्वबिद्यालयकी बिष्णु दिदी लगायतले शिवरात्रि पर्वको बारेमा चर्चा गरेका थिए । पन्चे बाजाको साथमा विभिन्न झाँकीसहित स्थानियको बाक्लो उपस्थिती रहेको प्रचार संयोजक खत्रीले जनाए । शुक्रबार साँझ देखि अहोरात्र शनिबारसम्म अखण्डदिप सहितको धुनी लगाउने समेत कार्यक्रम हुने उनले बताए ।

सम्बन्धित न्यूज

Back to top button