पोखरा कार दुर्घटना : गम्भीर घाइते भएकी छोरीको पनि मृत्यु

दीननाथ बराल, पोखरा न्यूज – १० ,फागुन । शुक्रबार पोखरामा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी नाबालिकाको पनि मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा २२ र १७ को सिमानामा पर्ने छोरेपाटनमा शुक्रबार भएको कार दुर्घटनामा परी २२ बर्षीया जमुना क्षेत्रीको मृत्यु भएको एक दिन पछि उनकी साढे दुई वर्षीया छोरी रेविका क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेकी रेविकाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

बाँके कोहलपुर घर भएकी रेविका आमाको साथमा विगत केही समय देखि पोखरा १७ छोरेपाटनमा बस्दै आएकी थिइन्। जमुनाका श्रीमान बुद्धिसागर गिरीलाई घटनावारे खबर गरिएको प्रहरीले जनाएको छ । आमा छोरीको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

शनिबार भ्याग्लुङ् खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ सडकमै पल्टिँदा तनहुँ बन्दीपुरकी २२ बर्षीया बिना मगर र उनको ४ बर्षीय छोरा अशिम मगर समेत घाइते भएका थिए । उनीहरुको  पोखराको नमस्ते हस्पिटलमा उपचार भइरहेको छ ।

कार चालक शिव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर उनको समेत उपचार गराइएको छ । गुल्मी घर भएका चालक पाण्डेको शरीरमा सामान्य चोट लागेको बताइएको छ ।

चालकले मापसे गरेर तीब्र गतिमा कार चलाउदा दुर्घटना भएको स्थानीयको आरोप छ । पोखरा २२ को एक रेष्टुरेण्टमा खाजा खाएर उनीहरु फर्किएको केही मिनेटमै दुर्घटनामा परेका थिए ।

यो पनि पढ्नुहोस् :- पोखरामा कार दुर्घटना, एकको मृत्यु, ४ घाइते (नामावली सहित )

सम्बन्धित न्यूज

Back to top button