पार्किङमा परेन आवेदन

पोखरा । पोखरा महानगरपालिकाको सडक छेउमा पार्किङ ठेक्का लगाउँदै आएको छ । सडकको छेउ लगाएर सवारी पार्किङ गर्दा कसैले रोकतोक गर्दैन ।

पार्किङ गर्ने ठाउँको अभाव रहेको भन्दै महानगरले सडक छेउ मै सडक पार्किङको ठेक्का लगाउँछ । तर, पछिल्लो १ वर्ष यता पोखरा महानगरपालिकाले सडक पार्किङका लागि सूचना निकाल्दै आए पनि ठेकेदार कम्पनीहरुले आवेदन दर्ता गराएका छैनन् ।
महानगरले निकालेको पछिल्लो सूचनाको समयावधि सकिई सकेको छ । यद्यपि, महानगरले निकालेको सूचनामा अहिलेसम्म एउटा पनि आवेदन परेको छैन ।

महानगरका राजश्व शाखा प्रमुख छवी शर्माका अनुसार पार्किङको लागि महानगरले निकालेको यो आठौं सूचना हो । यसअघि ६ पटकसम्म टेन्डर आह्वान गरेको महानगरले २ पटकसम्म काम गर्न इच्छुकलाई सार्वजनिक सूचना मार्फत डाँकेको थियो ।
यसअघि निकालेको टेन्डरमा, टेन्डर रकम बढी भएको बताउँदै ठेकेदार कम्पनी पछि हटेका थिए । पछिल्लो पटक महानगरले पार्किङको लागि ३ करोड २० लाखको सूचना निकाल्दा समेत कसैको टेन्डर निकाल्दा समेत कसैको आवेदन परेको छैन । जुन रकम पहिलो पटक निकालेको सूचनामा तोकिएको भन्दा ४ करोड ३६ लाख रुपैयाँ कम हो ।

२ वर्षको लागि पार्किङ जिम्मेवारी ठेकेदार कम्पनीलाई दिने योजना बनाएको महानगर असफल बन्दै आएको छ । सडक पार्किङलाई कम गर्न नीजि क्षेत्रबाट ‘पे—पार्किङ’ पनि सुरु भएको छ । नीजि क्षेत्रबाट सुरुआत गरिएको ‘पे—पार्किङ’ त्यति प्रभावकारी बनेको भनै देखिन्न ।

बढ्दो सहरीकरण र सवारीको चाँपले साँघुरो बन्दै गएको महानगरका बाटोमा सवारी पार्किङ गर्न ठेक्का लगाउँदा बाटो झनै साँघुरिदैन र ? महानगरका सूचना अधिकारी भरतराज पौडेललाई हामीले प्रश्न ग¥यांै ।
‘पहिलेदेखि यसरी नै चल्दै आएको छ,’ हाम्रो प्रश्नको जवाफमा उनले भने, ‘चिप्लेढुंगा, महेन्द्रपुलमा तपाईंले देख्नु भएकै होला । बाटोमै सवारी पार्किङ हुँदै आएको छ ।’

सडकमा सवारी पार्किङ हटाउन महानगरले ‘अन्डरग्राउन्ड पार्किङको पनि योजना अघि सारेको छ । यद्यपि, व्यापारिक कम्पलेक्सहरुले सवारी पार्किङका लागि बनाइएको अन्डर ग्राउन्ड व्यावसायिक प्रयोजनमा लगाउँदै आएका छन् ।
पोखरा महानगरपालिकाले २०५७ देखि सडकमा पार्किङ ठेक्का लगाउँदै आएको छ । पार्किङका लागि महानगरले सडकमै ठेक्का लगाएको भन्दै चर्को विरोध पनि हुँदै आएको छ ।

सवारीको बाक्लो आवागमनले पैदल यात्रुहरुलाई आउजाउ गर्न समस्या बनेको छ । महानगरले न्युरोडस्थित पुरानो यातायात कार्यालय भत्काएर पार्किङ स्पेश बनाउँदै छ ।

सम्बन्धित न्यूज

Back to top button