सहारा एकेडेमीलाई वार्षिक ५ लाख दिने तयारी गर्दैछौंः मन्त्री विश्वकर्मा

पोखरा न्युज । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लबद्धारा संचालित सहारा एकेडेमीको लागि वार्षिक ५ लाख रुपैया आर्थिक सहयोग गर्ने तयारी गरिएको बताएका छन्। सहारा एकेडेमीको मंगलबार पोखरामा अवलोकन गर्दै मन्त्री विश्वकर्माले राज्यले गर्ने काम एक निजी संस्था क्लबले गर्दै आएकाले राज्यको तर्फबाट वार्षिक ५ लाख रुपैया सहयोग आउने गरी रातो किताबमै पार्ने तयारी गरिएको जनाएका हुन्।

सहारा क्लबले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटबल एकेडेमी सहित वार्षिक रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सबैलाई गर्व भएको मन्त्री सुनारले उल्लेख गरे । प्रतिकुलताका बावजुद नेपालको खेलकुदले फड्को मारेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई बाचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहाभागिलाई बाचुञ्जेल मासिक ४ हजार प्रदान गर्ने गरि सरकारले निती बनाएको बताए ।

राज्यले र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको जनाए । उनले भने “अब खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ, अव कुनै द्विविधा छैन, खेलसंगै शिक्षा पनि आवश्यक छ ।”  मन्त्री विश्वकर्मालाई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए ।

सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहाकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य योगेश गुरुङ, सदस्य नरजङ्ग गुरुङ्ग लगायतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फबाट स्वागत गरेका थिए ।  यसैबिच, मन्त्री विश्वकर्माले पोखरा रंगशालाको समेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालमा हुने विभिन्न खेल मैदानको तयारीको बारेमा सदस्य गुरुङले मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Back to top button