नेविसंघ आन्दोलन : मुठभेट र चक्काजामपछि सहमतिको प्रयास

पोखरा । नेविसंघ कास्कीले घोषणा गरेको चरणबद्ध आन्दोलन सहमपतिपछि टुंगिएको छ । नेविसंघका नेता राजेश हमाललाई नियोजित ढंगले पक्राउ गरेको भन्दै नेविसंघले सोमबार र मंगलबार पोखराका मुख्य—मुख्य चोकमा टायर बालेर चक्काजाम साथै सरकारी गाडिलाई आवागमनमा रोक लगाएर विरोध गरेको थियो ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीसहित जिल्ला स्तरका नेता र जिल्ला प्रशासन कास्कीबिच वार्ताबाट सहमति खोज्ने प्रयासपछि आन्दोलन टुंगिएको हो । कांग्रेसका जिल्लास्तरका नेता र प्रशासनबिचको बैठकपछि पक्राउ पूर्जी जारी गरेका राजेश सहित ८ जनाले प्रहरीसामु स्वतः गिरफ्तारी दिने छन् ।

प्रशासनै मुद्दा दर्ता भई सकेको हुनाले प्रक्रियागत ढंगबाटै केस मिलाउँन सहयोग गर्ने र प्रशासनले पनि त्यही अनुसार केस छिटो टुग्यांउने सहमति भएको छ नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । पक्राउ पुर्जी जारी भएका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्री भने अहिलेसम्म फरार छन् । सभापति केसीका अनुसार उनीहरु अहिलेसम्म आफूहरुको सम्पर्कमा आएका छैनन् ।

सहमतिपछि नेविसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु पनि फिर्ता लिई सकेको छ । आफ्ना कार्यकर्ता राजेश हमाललाई प्रहरीले समातेपछि नेविसंघले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेको थियो ।
यता, नेकपा निकटको अनेरास्ववियुले भने घटनाको कुनै जिम्मेवारी लिएको छैन । व्यक्तिगत रिसिबीका कारण घटना मुठभेटको अवस्थासम्म पुगेको बताउँदै आएको अनेरास्ववियुले कुनै चासो देखाएको छैन ।

घटना प्रवृतिअनुसार दुवै पक्षबाट हानाहान भएको देखिए पनि अनेरास्ववियुका कार्यकर्ताले बेइमानी गरेको भनदै सभापति केसीको आपत्ति जनाए । ‘घटना प्रवृतिअनुसार पहिला अखिलका साथीहरुले आक्रमण गर्नु भयो । तर, नेविसंघका साथीहरुले उजुरी दिनु भएन,’ उनले भने, ‘तर, अखिलका साथीहरु राजनीतिक रुपमा बेइमान निस्किनु भयो । एक, दुई झापड खाएको उजुरी दिनु भयो ।’

नेविसंघका विद्यार्थीमाथि अखिलका विद्यार्थीहरुले हातपात गर्दा चुप लागेर बसेको क्याम्पसले अखिलका विद्यार्थीमाथि नेविसंघले हातपात गर्दा प्रहरीलाई खबर गरेर पक्राउ गराएको भन्दै उनले कडा आलोचना गरे । ‘यसले त राम्रो गरेन, भोलीका दिनमा क्याम्पस प्रशासन र हामीबिच विद्यार्थीकाबिचमा पनि अविश्वास पैदा ग¥यो,’ उनले भने, ‘यसले भोली फेरि पनि जटिल स्थिति आउँन सक्छ ।’
क्याम्पस प्रशासनले के—के न गरें भन्ने ठाने पनि नेविसंघमाथि भने बेइमानी गरेको उनको आरोप छ । यसबारेमा बुझ्नको लागि क्याम्पस प्रमुख चन्द्रबहादुर थापालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

यता, नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले वार्ताको माध्यमबाट सहमति खोज्ने प्रयास गरे पनि आफूहरु त्यति विश्वस्त नभई सकेको बताए । ‘वार्तामा बसेर सकारात्मक सहमति भयो भन्ने खबर छ, पार्टीले त्यही अनुसार निर्देशन पनि दिएको छ,’ उनले भने, ‘हामी प्रतीक्षामा छौं । आशा छ, राम्रै होस् ।’

सकारात्मक सहमति भएको भनिए पनि आफूहरु एकदमै कम आशावादी रहेको उनले दोहो¥याए । सहमति अनुसार सहमतिको पालना नभए यसको परिणाम गतिलो ननिस्कने समेत उनले चेतावनी दिए ।
नेविसंघले हिजो दिउसो प्रदेश सभा अघि र चिप्लेढुंगामा टायर बालेर विरोध प्रदर्शन गरेको थियो । मंगलबार बिहानैदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरको नेविसंघले महेन्द्रपुल, नालामुख र पियु चोकमा टायर बालेर चक्काजाम गरेको थियो । पिएन क्याम्पस गेटमा प्रहरी प्रशासन र नेविसंघ कार्यकर्ताबिच हानाहान हुँदा नेविसंघका कार्यकर्ता सुजन लामिछाने घाइते भएका थिए ।

यस्तै, १२ वटा सरकारी गाडिलाई नेविसंघले नियन्त्रणमा लिएर आवागमनमा रोक लगाएको थियो । सहमतिपछि गाडिका चाबी सम्बन्धित निकायमा बुझाई सकेको नेविसंघका केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Back to top button