नेपालको आरात् घटनाक्रम ‘यो कस्तो महाभारत?’

२१ औं शताब्दीमा महाभारतको युद्ध लडिएको भए कस्तो हुन्थ्यो होला त ? कल्पना भन्दा बाहिरका प्रविधिले सुसज्जित शस्त्र, अस्त्र, यन्त्र, संयन्त्र । समष्ट जल, थल, नभ भरी व्याप्त । ज्ञान, बल, सीप, साम, दाम, दण्ड, भेद सबथोकले भरपुर ।

यी सब त हामीले पढेको महाभारतमा पनि त थियो । तर भारतवर्षको महाभारत र वर्तमानको महाभारतमा समानता र फरक दुवै ल्याउने एउटै विरोधाभासपुर्ण तत्व हुनेछ समय । यही समयको समानता र फरकको कथा “यो कस्तो महाभारत ?” नाटक महाभारत मै उल्लेख भएका विभिन्न पात्रलाई समेटेर पोखरा थियटरमा उतारिएको छ यतिवेला । दीपक पराजुलीको लेखन रहेको नाटकलाई निर्देशन गर्दै पञ्च सुब्बा गुरुङले ती पात्रलाई अत्याधुनिक शस्त्र र अस्त्रको साथमा थियटरमा उतारेका छन् ।

महाभारतका युधिष्ठिर, धृतराष्ट्र, अश्वत्थामा, भीष्मपितामह, अर्जुन, नकुल, सहदेव, कर्ण, द्रूपद, दुर्योधन, शकुनी, सञ्जय लगायतका पात्रहरुलाई धनुषवाणको ठाउँमा अत्याधुनिक हातहतियार र चिठीपत्रको ठाउँमा आधुनिक प्रविधि इन्टरनेट, फेसबूक , ट्वीटर र स्याटलाइटको प्रयोग सहित उतार्ने काम गरिएको छ नाटक ‘यो कस्तो महाभारत?’ मा । महाभारतका यी पात्रहरुको वारेमा चिरपरिचित दर्शकलाई पात्रहरुको पृथक तर जीवन्त अभिनयका कारण यो नाटकले शुरुवातमै आकर्षण गर्दछ । अनि झन्डै एक घन्टाको यो नाटकले लेखकको कथा र निर्देशकको खुवीका कारण ती पात्रको वारेमा जानकार नरहेका दर्शकलाई समेत शुरुको १०/१५ मिनेट लगत्तै न्याय दिन सफल भएको मान्न सकिन्छ ।

नाटकमा युधिष्ठिर (राजेन्द्र अधिकारी),  निश्चल विमल (धृतराष्ट्र / अश्वत्थामा), भीष्मपितामह (रमेशबाबु तिमिल्सिना), दुर्योधन (नवराज गिरी), शकुनि (विष्णु तिमिल्सिना),एम. डि काफ्ले (कर्ण), सञ्जय (रोशन ज्ञवाली), अर्जुन (सरोज तिवारी) , नकुल (उज्वल ढकाल) सहदेव (गौरव पौडेल) र सैनिकको भूमिकामा अञ्जन रोका, प्रतीक घिमिरे तथा धनकाजी श्रेष्ठले दमदार अभिनय देख्दा लाग्छ महाभारत नै हो । शकुनिको चाल उस्तै, दुर्योधनको दम्भ उस्तै, धृतराष्ट्रको हठ उस्तै, कर्ण र अश्वत्थामाको भुमिका उस्तै । व्यासको महाभारत युद्ध झै युद्धको निकै निकट आएर अर्कै मोड लिन्छ कथाले ।

प्राचीन कथावस्तुको झल्को दिदै आजको नेपाली समयलाई कथाले तब प्रतिविम्बित गर्छ जब शकुनिले कुटनीति र चलखेलले महाभारत नै अन्तै मोडिदिन्छन् । तत्पश्चात शुरु हुने धोकाधडी, चलखेल र सत्तालिप्सा आसपास नै “यो कस्तो महाभारत” अन्तसम्म घुम्छ । समयले भीष्मपितामहको भीष्म प्रतिज्ञा तोडिदिन्छ, पाँच पाण्डवलाई छिन्नभिन्न पारिदिन्छ, शकुनि र दुर्योधनलाई फेरि बलियो बनाइदिन्छ, कर्ण र अश्वत्थामाको पराक्रम भुलाइदिन्छ ।

नेपालको पछिल्लो घटनाक्रम सशस्त्र द्वन्द, शान्ति प्रक्रिया, संबिधान सभाको निर्वाचन र त्यसयताको सत्ताको चलखेलको वारेमा नाटकले चरितार्थ गरेको छ । महाभारतका ती पात्रले महाभारतकै शैलीमा नेपालका राजा, युवराज, प्रजा, प्रधानमन्त्री र नेता- कार्यकर्ताको भूमिका निर्वाह गरेका छन् । यिनै पात्रमार्फत युग फेरिए पनि समयको खेल उहीँ छ, किनकी मोह त्यहीँ छ, शक्तिलाई आशक्ति उहीँ छ, कपट, छल, जालझेल, लोभ लालच जहीको त्यहीँ छ भन्दै कथाले वर्तमानको यथार्थ चित्रण गरेको छ ।

यस अर्थमा नाटकले नेपालको आरात् घटनाक्रमलाई नै परिस्कृत ढङ्गमा पेश गर्दै आफ्नै राजनीतिक माहौललाई दर्शक माझ साक्षात्कार गराउन सफल भएको छ । र अन्त्यमा आँखै वरिपरि खेलेको घटनाक्रमलाई सम्झाउँदै सम्पुर्ण दर्शकलाई प्रश्न सोध्न बाध्य पारेको छ – ओहो ! यो कस्तो महाभारत ?

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button