पोखरामा रबिन्द्र अधिकारीको शालिक अनावरण हुँदै

पोखरा न्यूज । पोखरा-१८ सराङकोट स्थित जामुनबोटमा शहिद तथा राष्ट्रिय  विभुतिहरुको शालिक निर्माण कार्य धमाधम भइरहेको छ । पोखरा महानगरपालिकाले ५७ रोपनी क्षेत्रफलमा पोखराका मुख्य चोक( आइल्याण्ड) मा रहेका विभिन्न शालिकहरुलाई समेटेर राष्ट्रिय विभुति तथा शहिद पार्कको रुपमा विकास गर्ने निर्णयसंगै हाल उक्त क्षेत्रमा शालिक निर्माण धमाधम भइरहेको राष्ट्रिय विभूति तथा शहिद पार्क निर्माण समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

उनका अनुसार उक्त क्षेत्रमा नेपाल एकिकरण गर्ने राजा पृथ्बी नारायण शाह, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र जनआन्दोलनका २०६२-०६३ का पहिलो शहिद भिमसेन दाहालको शालिक राखिसकिएको छ । त्यसै गरी मंगलबार शहिद पार्कमा रबिन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको समेत शालिक राखिने सदस्य सचिव तिमिल्सिनाले बताए । पोखरा जिरोकिलोमिटर क्षेत्रको चोक (आइल्याण्ड) मा रहेको उक्त शालिक शहिद पार्कमा स्थापना गरिएको उनले जनाए ।

त्यसै गरी रबिन्द्र अधिकारीको शालिक भने भोलि बिहिबार फागुन १५ मा प्रथम स्मृति दिवसको अवसर पारेर अनावरण गरिने भएको छ । बिहिबार विहान करिब ८ः०० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त शालिक अनावरण गर्ने तयारी गरिएको महानगरले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री अधिकारीको गत वर्ष ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएको फागुन १५ लाई रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा सभागृहमा स्मृति सभाको समेत आयोजना गरेको छ ।

रबिन्द्र अधिकारीको पूर्णकदको रंगिन शालिक करिब साढे दुई लाखमा निर्माण गरिएको सदस्य सचिव तिमिल्सिनाले जनाए । त्यसै गरी नेपाल पर्यटन बोर्डले रबिन्द्र अधिकारीको शालिक भएको स्थानमा जानको लागि फुट ट्रयाक निर्माणमा १५ लाख आर्थिक सहयोग गरेको उनले जनाए ।

धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री, पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला, चित्र बहादुर गुरुङ लगायतको शालिक निर्माण गरीने तयारी गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव समेत रहेका सदस्य सचिव तिमिल्सिनाले बताए । पोखरा लेखिएको ६५ मिटरको ब्यानर समेत पार्कमा रहने भएको उनले बताए । त्यसै गरी उक्त पार्कमा हाल खुल्ला व्यायामशाला निर्माण भएको छ भने शौचालन, बाल उद्यान संचालन भएको छ । महानगरको आर्थिक सहयोगमा उक्त पार्क संरक्षणको लागि ८० लाखको लागतमा कम्पाउण्डसमेत निर्माण गरिने भएको छ । यस वर्ष पार्क निर्माण तथा विभिन्न भौतिक संरचनामा एक करोड खर्च गर्ने भएको महानगरले जनाएको छ ।

पोखरा महानगरमा धेरै चोक(आइल्याण्ड) मा रहेका विभिन्न व्यक्तित्वका शालिक प्रकृया पुर्याएर बिस्तारै उक्त पार्कमै व्यवस्थापन गरिने मेयर मानबहादुर जिसीले बताए । उनले भने “ पोखरामा हामीले नयाँ पर्यटकीय गन्तव्यको रुपमा पनि शहिद पार्कलाई स्थापित गर्न खोजेका हौं, जुन पार्कमा राष्ट्रिय विभूति तथा शहिदका शालिक राखिदैछ ।”  पार्कबाट पोखरा, फेवाताल र हिमश्रृखला समेतको दृश्यावलोकन गर्न सकिने भएको पार्क निर्माण समितिका अध्यक्ष एवं पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उक्त पार्कमा करिब २५ जना सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना रहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Back to top button