हङकङले आर्थिक मन्दीबाट उकास्न ७० लाख मानिसलाई डेढ लाख बाँड्ने

पोखरा न्यूज ।  हङकङ सरकारले आर्थिक मन्दी प्रभावित अर्थतन्त्रलाई उकाँस्न ७० लाख मानिसलाई प्रति व्यक्ति लगभग डेढ लाख रुपैयाँका दरले बाँड्ने भएको छ ।

हङकङले आन्दोलन र कोरोना भाइरसले ओरालो लागेको अर्थतन्त्रलाई चलायमान बनाउन उक्त रकम बजारमा पठाउन लागेको हो । प्याकेज अनुसार हङकङले कुल १ सय २० बिलियन हङकङ डलर आफ्ना नागरिकलाई बाँड्न लागेको हो । हङकङ सरकारको यस सहयोग प्राप्त गर्न भने १८ वर्ष पुगेका त्यहाँका स्थायी बासिन्दा हुनु पर्नेछ । यसै मापदण्ड पूरा गरेका ७० लाख मानिसलाई उक्त रकम प्रदान गरिनेछ ।

सन् २०१९ को तेस्रो चौमासिक पछि लागेको मन्दीले गर्दा हङकङमा १५ वर्षमा पहिलो पटक बजेट घाटा हुने चेतावनी दिइएको छ । त्यहाँका आर्थिक सचिव पल च्यानले आउँदा दिन हङकङलाई अझै कष्टकर हुने बताउँदै त्यहाँको कुल ग्राहस्थ उत्पादनको ४.८ प्रतिशतसम्म बजेट घाटा हुने चेतावनी दिएका छन् । उनले महिनौं लामो आन्दोलन, चीन – अमेरिका व्यापार युद्ध, सुस्ताउँदो विश्वको आर्थिक वृद्धिदर र कोरोना भाइरसले हङकङको अर्थतन्त्रलाई प्रभावित पार्ने बताएका हुन् ।

त्यहाँ बाँड्ने भनिएको १ सय बिलियनका अलावा हङकङ सरकारले आयकर घटाउने घोषणा पनि गरेको छ । उक्त व्यवस्थाले २० लाख करदातालाई प्रभावित पार्ने हङकङ सरकारले दावी गरेको छ । त्यस्तै कम आय भएका जनताका लागि १ महिनासम्म भाडा छुटको सुविधा पनि प्रदान गरिने जनाइएको छ ।

हङकङ सरकारले यस अघि पनि कैयौं चरणमा ३० बिलियन हङकङ डलर बराबरको रकम बजारमा प्रवाह गरिसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button