पुनहिल पुग्दा…

लुङतुङ डाँडा(३२१० मि.) अर्थात पुनहिल । बिहान ६ः५८ बजेको हुँदो हो । सुर्योदयको समय । सुर्योदयको निर्धारित समय अगावै साढे ६ बजे पुनहिल पुगेका थियौं हामी । चैत बैशाखमा लालीगुराँसले ढकमक्क हुने पुनहिल । हामी पुग्दा भने हिउँमय थियो । आँखाले देखुन्जेल हिउँ नै हिउँ । हिमालमा हिउँ, भुइँमा हिउँ, रुखका हागाहरुमा हिउँ, छेउको चिया पसलको छाप्रोभरि हिउँ । यस्तो लाग्थ्यो, प्रकृतिले हाम्रै स्वागतका लागि भुइँमा सेता मोतीका दानाहरुको लमतन्न च्यादर बिछ्याइदिएकी छिन् ।

छ्याङ्ङ खुलेको आकाश अनि हिमाल । उस्तै खुलेको थियो घुम्न आउनेहरुको मन पनि । गाढा सुन्तला रंगले पूर्वी क्षितिज ढाकिन थाल्यो । सुर्योदय हुने लक्षण थियो त्यो । अनि तानियो सबैको ध्यान पूर्वैतिर । कोही मोबाइल त कोही क्यामरामा सुर्योदय कैद गर्न आतुर देखिन्थे । केही छिनमा सबैको प्रतिक्षाको घडी समाप्त भयो । घामको पहिलो किरणले अन्नपूर्ण साउथलाई चुम्बन गरे सगैँ सबैमा उमंग छायो । एकैछिनमा धौलागिरी अनि माछापुच्छे« पनि मुस्कुराउन थाले । अनि, सगैं मुस्कुराए पर्यटकहरु । शरीरमा छुट्टैै उर्जा बढेको भान भयो । पदयात्राको तेस्रो दिन बिहान पुनहिलमा थियौ हामी ।

पर्यटकहरुलाई घुमाउन लागेको तीन वर्ष बिति सक्यो । आफैँ घुम्न भन्दा पनि अरुलाई घुमाउँदाको मज्जा बेग्लै लाग्छ । हरेक चोटी नयाँ स्वाद पाउँने गर्छु । अन्नपूर्ण आधार शिविर पदयात्रा गर्ने योजना हिंकु केभ र देउराली जाने बाटोमा गएको हिम पहिरोले पूरा हुन सकेन । पोल्यान्डबाट आएका साथीहरु – माइकल र मार्ता पदयात्रा नगरी आफ्नो देश फर्कने मुडमा थिएनन् । यसरी पाँच दिने पुनहिल घोरेपानी पदयात्रामा निस्किने साइत जुरेको थियो ।

केही वर्ष पहिलेसम्म नयाँपुलबाट नै पदयात्रा सुरु हुन्थ्यो । अहिले भने नयाँपुल, सुदामे, हिले हँुदै उल्लेरीसम्म सडक पुगिसकेको छ । पदयात्रा गर्ने गोरेटो बाटोलाई भत्काएर सडक बनाएँ, चौतारा भत्काएर बस स्टप बनाएँ । गोरेटो मात्र भत्किएन त्यहाँ, सगैँ भत्कियो आफ्नै गाउँठाउँमा पर्यटन व्यवसाय गर्ने कैयौंका सपनाहरु । केही वर्ष अघि सम्म चराको चिरबिर आवाज अनि नदी सुसेलेको आनन्द लय सगैँ सिढी उक्लिनुको मज्जा बेग्लै हुन्थ्यो । अहिले भने हामीले त्यो स्वाद लिन पाउँदैनौं । मोटरको कालो धुवाँ अनि अत्यास लाग्दो धुलो । पैदल यात्रा गर्नुभन्दा गाडि चढेर जानु नै बेस हुन्छ । त्यसैले हामी बिरेठाटीको

चेक पोष्टमा पदयात्राको इन्ट्री गरेर बसमा सुदामे हुदैँ तिखेढुंगासम्म पुग्यौं । यो बिचमा पर्छन् सुन्दर लाम्दावाली र सुदामे गाउँ । केही वर्ष अघिसम्म पर्यटकहरुले खचाखच हुने यहाँका होटल अहिले सुनसान छन् । कति होटलको ढोकामा त भोटे ताल्चा लािग सकेको देखियो । यस्तो, लाग्थ्यो महिनौ भयो यि होटलमा यसरी ताल्चा लागेकोे । बाकीँ बचेका गोरेटोहरुमा स–साना झारपातले अधिपत्य जमाइसकेका थिए । अव्यवस्थित सडक विस्तारले एक त पर्यटकको बसाइलाई छोट्याउँदै गएको छ । अर्कोतिर बिच बाटोमा पर्ने होटल व्यवसायीको व्यवसाय नै धरापमा पारेको छ । प्रकृतिको मज्जा लुट्न आएका पर्यटक माक्सले अनुहार छोपेर पदयात्रा गरेको देखेर ननिको लाग्यो ।

प्राकृतिक सुन्दरतामा रमाउन आएका पाहुनाहरुलाई धुलो चखाएर पठाउनु कतिको न्यायोचित हुन्छ ? यसमा सरोकारवालाहरुको ध्यान पुगेको देखिन्न । उसो त म विकास विरोधी हैन । मलाई लाग्छ, विकासको नाममा पदयात्रा गर्ने गोरेटोहरु मास्नु उति सान्दर्भिक कुरा होइन । मानसपटलमा यस्तै तर्कना उब्जिने गर्छ यहाँ आउँदा । यस्तै गुनासोसगँ एक्लै बर्बराउँदै कति बेला तिखेढुंगा पुगिएछ पत्तै पाइन ।

तिखेढुंगा (१४८० मि.) बाट उल्लेरीको नाकै ठोकिने उकालो । उकालो अघिको दुइटा झोलुंगे पुल । पुलबाटै देखिने नजिकैको झरनाले जो कोहीलाई त्यही भुलाउँछ । बर्खामा खोला उर्लेर आउँदा यो झरना अझै ठुलो बन्छ । अहिले भने आफ्नै मन्द गतिमा बिस्तारै बग्दै थियो ।

थकान मार्दै उकालो चढ्नुमा पनि छुट्टै मज्जा छ । अझ प्रकृतिका अनुपम छटा क्यामेरामा कैद गर्दा त यति आनन्द आउँछ कि ! म अहिले शब्दमा वर्णन गर्न सक्दिन । जति उकालो लाग्यो, उति खोला छेउको तिखेढुंगा अनि हिले गाउँ लोभलाग्दो देखिन्छ ।

आहा ! मनै हर्ने पहेलै फुलेका तोरी बारी । एक त अन्नपूर्ण आधार शिविरमा हिम पहिरोको प्रभाव र अर्कोतिर कोरोना भाइरसको असर सुनसान बाटोले प्रष्ट बुझिन्थ्यो । “अहिले त चाइनिजहरु होटलमा खचाखच हुन्थे । पोहोर साल यतिबेला हामीलाई भ्याइनभ्याइ थियो । खै कुन भाइरसले गर्दा हो, तीन दिनसम्म एउटा पाहुना समेत आएका छैनन्, हाम्रो व्यवसाय त धरापमा परेको छ,” चिया पिउँदै गर्दा होटलकी साहुनीले गुनासो पोखिन् । २० लाख विदेशी पर्यटक भित्राउँने महत्वकांक्षी लक्ष बोकेर नेपाल सरकारले पर्यटन वर्ष मनाइरहँदा यस्ता प्रकोपले कति असर पु¥याएको छ ? लेखाजोखा नै गर्न सकिन्न होला ।

थकान मार्दै उल्लेरी करिब साढे १ घण्टामा पुगियो । आज हाम्रो बास उल्लेरी ‘प्रताप होटल’मा । उल्लेरी (१९६० मि.), चिटिक्क परेको सानो बस्ती छ । केही वर्ष अघिसम्म परम्परागत शैलीका घरभित्र सञ्चालित यि होटलहरु अहिले कत्रिंmटमय बनेको छ । चार पाँच तले अग्ला होटलहरु ठडिदंै छन् । मौलिकता झल्कने होटलहरु बनाउन सके कति गज्जब हुँदो हो ! नयाँपुलबाट उल्लेरी सडकले जोडेपछि पर्यटकहरु उल्लेरीमा त्यति बास बस्न रुचाउँदैनन् । बाटो बनेपछि पहिलो दिनमै घोरेपानी पुग्न सकिन्छ । करोडौं लगानी गरेर होटलहरु निमार्ण गर्ने व्यवसायीहरुले केही रकम पदयात्राको बाटो बनाउनमा खर्च गर्न खै कुन्नि किन कन्जुस्याइँ गरेका होलान् ? यस्तै हो भने केही वर्षमा नै यहाँका होटलहरु सुदामे र लाम्दानीका होटलहरु जस्तै सुनसान बन्लान् भन्नेमा दुई मत छैन ।

०००

दोस्रो दिन,
बिहानै होटलबाट अन्नपूर्ण साउथ र हिमचुलीको दृश्य लोभलाग्दो देखियो । बे्रक फास्ट पछिको यात्रा घोरेपानी । करिब पाँच घण्टाको यात्रा । कस्सिएर हिँडे तीन घण्टामै पुगिन्छ । बिस्तारै अघि लाग्ने हाम्रो मनसाय । हरेक पल्ट यस पदयात्रामा आउँदा सडक विस्तार हुँदै गई रहेको छ । पोहोर साल हिँडेको ढुंगाको गोरेटो अहिले कहाँ पुगे होलान् ? कति ठाउँमा त अव्यवस्थित बाटो विस्तारले पहिरो पनि गएको छ ।

बिहानै खच्चडमा घोरेपानीसम्म सामान पु¥याएर उल्लेरी फर्कदै गरेका बिनोदसगँ बाटैमा भेट भयो । भेटमा उनले भने, “अबको हिउँदसम्म त नांगेठाटीसम्म सडक पुग्ने रे ! अब यी खच्चडहरु बेच्नु बाहेकको विकल्प छैन । काम गरेर खाने मुहान नै सुक्ने भो ।” यो बिनोदको मात्रै होइन । बिनोद जस्तै काम गर्ने यो ठाउँका अरु युवाको पनि कथा हो । बाटोले कैयौं विनोदहरुको रोजीरोटीे निमोठिदिएको छ । कमाइँ खाने भाडोँ रित्याइदिएको छ ।

०००

करिब दुई घण्टाको यात्रामा पुगिन्छ, नांगेठाटी (२४३०मि.) । ५/६ वटा होटल छन् यहाँ । ‘लन्च’, ‘टी’ बे्रकका लागि पदयात्रीहरु यहाँ रोकिन्छन् । हामी भने ज्यान तन्काउँदै ‘हट लेमोन’ लिएर अघि बढ्यौं । कहिले लालीगुँरासको जंगल छिचोल्दै त कहिले सिढी बाटो उक्लदै दिउँसो १ बजेको थियो घोरेपानी पुग्दा । सुनसान थियो घोरेपानी । सिजनमा प्राय भरिभराउ हुने होटलमा छिटफुट पर्यटक मात्रै ओहोरदोहोर गरि रहेका देखिन्थे ।

दिउँसोको दुई बजे हामीले त्यही लन्च लियौं । केही समयको लागि फुर्सदीलो भयौं । फुर्सद उपयोग गर्न मुराकामीको ‘नरओइजियन उड’को पाना पल्टाउँन थाले । होटलको डाइनिङबाट देखिने खुलेको निलगिरीले मनै लोभ्यायो । किताब थन्काए । साथीहरुलाई डाँकेर घोरेपानी एक चकर हान्न निस्कियौं ।

जताततै हिउँ नै हिउँ ! बादलसगँ लुकामारी खेल्दै गरेको धौलागिरीले कसको पो मन नतान्ला र ? करिब २५ सय मिटर उचाइमा रहेको पोल्यान्डको अग्लो हिमाल ‘राइसी’ नियाल्ने उनीहरु ‘धौलागिरी’लाई एकटक हेरिरहेँ । के धीत मर्दो हो ? खुलेको आकाश, न्यानो घामको किरणले स्पर्श गर्दा शरीरमा छुट्टै उर्जा भरिएको भान भयो । नजिकको अग्लो भु–भागबाट वरपर नियाल्दा पहिले जस्तो आनन्द मिलेन मनमा । मुस्ताङ तातोपानी, सिखा हुँदै घोरेपानी सडकले जोडिसक्यो ।

केही वर्ष पहिले थोराङ्ला पास गरेर सिखा, घोरेपानी हुँदै नयाँपुल निस्किने १ महिना दिनको राउन्ड अन्नपूर्ण पदयात्रा अहिले खुम्चिएर दस/बाह्र दिनमा पुगिसकेको छ । उल्लेरी छोएको सडक केही महिनामा घोरेपानी आउँने छ । सम्भवतःबाटोले घोरेपानीलाई उल्लेरीसंग जोडेपछि ‘पुनहिल’ पदयात्रामा पूर्ण विराम लाग्न सक्छ । मनमा गुनासाहरुको चाङ थपिदै छ । “साच्चै धौलागिरी केही वर्ष पछि पर्यटकहरुलाई पदयात्रा गराउँदै तिम्रो दर्शन गर्न पाउँला त मैले ?” आफैंलाई प्रश्न गरें । मन खिन्न भयो ।

विदेशीहरुको बानी नै गज्जबको । फुर्सद मिल्यो कि पढिहाल्नु पर्ने । होटलको डाइनिङमा रहेको हिटरको तातो राप अनि चियाको चुस्कीसगैँ आफ्नै धुनमा रम्दै थिए उनीहरु । उनीहरु फजुल समय जतिसक्दो उपयोग गर्न लागि पर्छन् । छेवैको बुक ¥याकमा नेपाल चिनाउने थुप्रै पुस्तकहरु भेटे । आहा ! होटल भन्या त यस्तो पो । नरेश कुसीद्धारा लिखित “हुम्ला – जर्नी इन्टु द हिडन सांग्रिला”ले मलाई अन्त्य सम्म तानि मात्र रहेन, हुम्ला छिट्टै पुग्ने हुटहुटी जगाइदियो । मनमनै सोचे, ‘हुम्ला चिनाउने यो बेस्ट किताब हुन सक्छ ।’ बिहान आकाश अनि हिमाल खुल्ने कामना गरेर बिस्तारा तातो पार्न पट्टि लागे ।

०००

घडीले बिहानको साढे पाँच बजाउँदै थियो । सबै लस्करै पुनहिल उक्लिन थाल्यौं । टाउकोमा हेड टर्च, टे«किङ स्टिक अनि हिउँमा हिड्न सहजताका लागि क््रयाम्प अनिवार्य हुन्छ । माथि उक्लदै गर्दा खुलेको हिमालले सबैको थकान बिर्साइ दियो । करिब ४५ मिनेटमा पुनहिल पुग्दा मनमा छुट्टै उर्जा मिल्यो । माछापुच्छे«देखि धौलागिरीसम्म लस्करै आँखाले देखुन्जेल हिमाल नै हिमाल । “सिजनमा यहाँ पर्यटकहरुको थामी नसक्नु भीड हुन्छ । पोहोर साल दसैं ताका एकै दिनमा हजार हाराहारी पर्यटकहरुले पुनहिलबाट दृश्य अवलोकन गरेका थिए,” टिकट काउन्टरका मेघ पुनले सुनाए ।

स्व. मेजर टेक बहादुर पुनलाई त्यतिबेला एकै दिनमा यसरी हजारौं पर्यटकले यहाँबाट दृश्यावलोकन गर्छन् भनेर कहिल्यै कल्पना गरेका थिएनन् होला । सुर्योदय र सुर्यास्त नियाल्न विश्वभर चर्चित छ पुनहिल । यहाँ पाइला नटेक्ने कमै देशका पर्यटकहरु होलान् । सन् १९२५ मा म्याग्दीको खिबाङ गाउँमा जन्मेका पुन पाँच वर्ष हुदाँ टुहुरा भए । आमाले अर्कैसगँ बिहे गरिन् । मावली हजुरबा र आमाको काखमा हुर्केका उनले चौध वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएर प्रारम्भिक शिक्षा हासिल मात्र गरेनन् । ३० वर्षको उमेरमा ब्याचलर इन साइन्स उत्तीर्ण गरे । पछि, आर्मीबाट अवकाश पाई सकेपछि उनले आफ्नो गाउँठाउँमा शिक्षा, स्वास्थ्य र कृषिमा जति योगदान पु¥याए । त्यो भन्दा ठुलो योगदान यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पु¥याएका रहेछन् ।

घोरेपानीबाट कस्सिएर हिँडे आधा घण्टामा पुगिने लुङतुङ डाँडा । जो कोही यहाँको सुन्दरतामा हराउँछन् । घण्टौं अन्नपूर्ण श्रृंखला, धौलागिरी सगैं खयर शिखर नियाल्दै सुर्योदय र सुर्योस्तको मज्जा लिन पनि सकिन्छ । यो विश्वकै पर्यटकीय गन्तव्य हुन सक्छ । यस्तै सपना बुनेर आफ्नै निजी खर्चमा पुनले घोरेपानीदेखि पुनहिलसम्म गोरेटो मात्र बनाएनन्, आफैँ गाइड बनेर सुरुसुरुमा नेपाल घुम्न आउन पर्यटकहरुलाई त्यो डाँडोसम्म पु¥याएका रहेछन् । समयक्रमसगैँ त्यो डाँडो केबल डाँडो मात्र रहेन, विश्वभरका पर्यटकहरुको सुर्योदय र सुर्यास्त नियाल्ने एक सुन्दर गन्तव्य पनि बन्यो । उनको मृत्युपछि उनको परिवार, शुभचिन्तक र सहयोगीहरुको सयुंक्त सहयोगमा भ्यु टावर निमार्ण गरेका रहेछन् । धितमरुन्जेल दृश्यवलोकन गरेर उनै पुनलाई हृदयदेखि नमन गरी घोरेपानी फर्कियो ।

आजको गन्तव्य टाडापानीसम्म ।

०००

 

घोरेपानीमा ब्र्रेकफास्ट पछि पूर्वतिर लाग्यौं । लालीगुँरास फुल्ने सिजन थिएन र मात्रै । लालीगुँरासको बोट बिचैबिचबाट हिडि रह्यौं । हिउँको चाङ कम भएको थिएन । जुत्तामा क्य्राम्प नराखि अघि बढ्न सक्ने अवस्था थिएन । घोरेपानीबाट टाडापानी हुँदै घान्दु्रक पुग्ने योजना बनाएरु आएका स्कुले विद्यार्थीहरु हिउँको कारणले आएको बाटो नयाँपुल फर्के । न्यानो लुगा मात्र भएर हुँदैन हिमाल पदयात्रामा । ट्रेकिङ स्टिक, क्य्राम्प जस्ता अति आवश्यक सामग्री छुटाउनै हुँदैन पदयात्रामा । नत्र, बिचबाटैमा यात्रा टुंगिन सक्छ ।

करिब १ घण्टामा पुग्यौं देउराली भ्यु पोइन्टमा । यहाँबाट देखिने हिमश्रृंखलाहरुले फेरि, मन लोभ्यायो । एकैछिन विश्राम लिएर अघाउन्जेल हेर्न थाल्यौं । सबै जना तस्बिर लिनैमा व्यस्त थिए । कोही हिमालको त कोही पृष्ठभूमिमा । हिमालसगैँ आफ्नो पनि । छुट्टै रौनक थियो त्यहाँ । देउराली पुगेपछि वनठाटीसम्म ओरालो बाटो पर्छ । बाटोभरि जमेको हिउँले झन् हिड्न गाह्रो पा¥यो । कति ठाउँमा त त्यहाँका होटल व्यवसायीहरु मिलेर डोरी समेत टागेका रहेछन् । त्यही समात्दै बिस्तारै पर्यटकहरु ओलर्दै थिए । यता, होटल सनराइज लजका प्रोपाइटर राम गुरुङले गुनासो पोख्दै भने, “अन्नपूर्ण आधार शिविर जाने बाटोमा अत्याधिक हिउँ परेकै दिन यहाँ पनि उस्तै भयो । ओरालो बाटो, हिउँकोे चाङ । उस्तै जोखिम थियो । हिउँमा चिप्लिएर खोल्सामा पुगे पर्यटकहरुको बाच्ने आशा न्युन थियो । यस्तो बेला एक्यापले कुनै ध्यान दिएन ।”

उनीहरु त यहाँ आएनन्, आएनन् । करिब १ कि.मी. को मोटो रसी मात्र हामीलाई उपलब्ध गराइदिएको भए पनि हामी आफैँ जोखिमपूर्ण बाटोमा रसी टागिदिन्थ्यौं । उनले अघि सुनाए, ‘पर्यटकबाट लाखौँ शुल्क उठाउने निकाय खै कसरी जिम्मेवार विहिन बन्न सक्छ । धन्न हामीले ठाउँठाउँ आफैले रसी टागेर यात्रा केही सहज बनेको छ । बिहान बेलुका बाटोको हिउँ पन्छाउन पनि समुह बनाएर गइ रहेकै छौँ त्यहाँ ।‘

देउरालीमा पुगेर उनकै होटलमा लन्च लियौं । यहाँ बासै बस्ने पदयात्री भने कमै हुन्छन् । करिब ५/६ वटा होटलहरु छन् यहाँ । सुनसान थियो देउराली । फाट्टफुट्ट औलामा गन्न सकिने पर्यटकहरु बाटोमा हिडि रहेका देखिन्थे । यहाँबाट ओरालो बाटो पछ्याउदै सानो खोल्सो कटेर उकालो लाग्नुपर्छ । कसिएर हिँडे ४५ मिनेटमा टाडापानी पुगिन्छ । आज हाम्रो बास त्यहाँको अन्नपूर्ण गेस्ट हाउसमा ।

टाडापानीका होटलहरु प्राय खालि हुँदैनन् । घोरेपानीबाट हिड्नेहरु मात्र नभई घान्दु्रक अनि छोम्रोङबाट आउनेहरु यहीँ बास बस्छन् । कस्सिएर हिँडे यहाँबाट तीन घण्टामा घान्दु्रक पुगिन्छ । यहाँ सुविधा सम्पन्न ७ होटलहरु छन् । दुई होटलहरु स्कुले विद्यार्थीहरुले भरिभराउ थिए । बाकीँ प्रायःखालि । बिहान यहाँबाट देखिने सुर्योदय सगैँ अन्नपूर्ण साउथ र माछापुच्छे« हिमाल नियाल्दा बेग्लै आनन्द मिल्यो ।

त्यहाँबाट १ घण्टामा पुगिने च्युलीसम्म एउटा कुकुरले हामीलाई पछ्याइरह्यो । त्यहाँ अर्कै पर्यटकहरुलाई भेटेपछि भने उनीहरुकै पछि लाग्यो । क्याम्रुङ खोलाको पुल तरेसगैँको ठाडो उकालो । गाउँलेहरु बर्खामा पहिरोले भत्काएको बाटोमा सिढी बनाउनैमा व्यस्त थिए ।

बाटोमा केही पर्यटकहरु प्लास्टिक उठाएर आफ्नै झोलामा पोको पार्दै अघि बढ्दै थिए । प्राय मिनिरल वाटरको बोटल, चकलेट अनि चाउचाउको खोल । मेरा साथी माइकलले गुनासो पोखे, “घुम्न आउनेहरु हिमालसम्म आफ्नो खानेकुरा बोक्न सक्छन् । तर उनीहरु फर्कदा हलुंगो चकलेट अनि चाउचाउको ¥यापर बोकेर फर्कन सक्दैनन् । यो एक असभ्य पर्यटकको लक्षण हो ।’ भविष्यमा हिमाल अनि प्रकृतिको सुन्दरतामा रमाउन हजारौं डलर खर्चेर आउनेहरु फर्केर अरुलाई नेपाल घुम्न जाऊ भनेर सुझाउन गाह्रो हुन सक्छ । उनी गुनासो पोख्दै थिए, ठाउँठाउँमा पिउने शुद्ध पानी एक्याप वा स्थानीय निकायले व्यवस्था गरे मिनिरल वाटरको प्रयोग नै कम हुन्थ्यो । पैसा खर्चको कुरा मात्र हैन, यसले बढी मात्रामा बाटोमा देखिने पानीको बोतल पक्कै न्युनीकरण हुने कुरा राम्रो थियो ।

छोम्रोङ पुग्दा थकान र भोकले थिलथिलो बनेको थियो ज्यान । लन्च खाएर ओरालो बाटो हुँदै झिनु डाँडा पुग्यौं । होटलमा के झोला मात्रै बिसाएका थियौं । लाग्यौं हट स्प्रिङतिर । मोदी खोलाको किनारमा छ तातोपानीको मुहान । त्यहाँका स्थानीयहरुले यसलाई व्यवस्थापित गरेर ३ वटा पोखरी बनाएका छन् । यसले एक त यहाँको ठाउँलाई प्रवद्र्धन गर्न मद्दत गरेको छ । अर्कोतिर एक रात झिनु डाँडामा पर्यटकहरु बसाई लम्ब्याएको छ । ४ दिनको थकान तातोपानी पोखरीमा बसेपछि हराएको महसुस भयो । शरीर चंगा भयो । स्वर्गीय आनन्द भन्छन्, नि यस्तै त होला ।

अर्को दिन बिहानको ब्रेकफास्ट पछि हिड्दै सिबै आइपुग्यौं । करिब १ घण्टा लागेको हुँदो हो । यहाँबाट नयाँपुलसम्म दिनभरको पदयात्रा थियो । अहिले गाडी गुड्छन् । पदयात्रा अब रहेन । जीपमा ३ घण्टामा पोखरा फि¥यौं । बाटोमा धेरै कुराहरु खेलिरहे । नेपालमा वर्षेनी भित्रिने पर्यटकहरुको धेरै हिस्सा पदयात्राले ओगटेको छ । तर, अव्यवस्थित सडक विस्तार, अनावश्यक प्रतिस्पर्धा, कमजोर फोहोर व्यवस्थापन जस्ता जटिल समस्याले पदयात्रा पर्यटन धरासयी बन्दै गएको छ । यस्ता समस्यालाई समयमै समाधान गर्न सकिएन भने नेपालको अर्थतन्त्रमै ठुलो आँच पु¥याउँछ । यसमा कुनै दुई मत छैन । समयमै सरोकारवालाहरुको ध्यान जाओस् ।

जय पर्यटन !

 

 

(गुरुङ साइकल यात्री हुन् । घुमफिरमा सौखिन गुरुङले साइकलबाटै पूर्वी नेपालका केही जिल्ला घुमी सकेका छन् ।)

सम्बन्धित न्यूज

Back to top button