मलेसियासँग नेपाल २२ रनले पराजित

पोखरा न्यूज । एसिसी पुर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ ।

थाइल्यान्डको टेर्ड्थाई क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर मलेसियाले पहिले ब्याटिङको निर्णय लियो । सायद अजिजको अर्धशतकीय योगदानसँगै निर्धारित २० ओभरमा मलेसियन टोलीले १ सय ५४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । उसका लागि अजिजले ५१(३५) रन बनाउँदा ओपनर अन्वर अरुदिनले ३१ तथा कप्तान अहमद फैजले ३० रनको योगदान दिए । अनिमुद्दिन राम्लीले पनि राम्रो फिनिसिङ गर्दै १८ बलमा २९ रन जोडे ।

बलिङ तर्फ नेपालका सन्दीप लामिछानेले प्रभावकारी प्रदर्शन गर्दै ३ विकेट लिन सफल भए । यससँगै उनले टिट्वान्टी क्रिकेटमा एक सय विकेटको कोसेढुङ्गा पनि पार गरे । ४ ओभरमा २२ रन मात्र खर्चेका सन्दीपले मलेसियाका शीर्ष तीन ब्याट्सम्यानलाई नै पवेलियन फर्काएका थिए । त्यस्तै अविनास बोहोराले २ तथा करन केसीले १ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ५५ रन पछ्याएको नेपालले इनिङको दोस्रो बलमै विकेट गुमाउन पुग्यो । कुशल मल्ल खाता नै नखोली आउट भए भने पारस खड्का पनि ९ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्किए । त्यस पछि भने कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऎरीले ६६ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न प्रयास गरे । मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए भने पवन सर्राफले १९ रनको योगदान दिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा स्कोर बनाउन नसक्दा नेपाल १९.५ ओभरमा १३२ रनमा सीमित हुन पुग्यो । मलेसियाका सार्विन मुनियान्डीले ४ विकेट लिँदा पवनदीप सिंह, खिजर हयात र स्याजरुल इर्दुसले दुई-दुई विकेट लिए ।

प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्यान्ड, हङकङ र सिङ्गापुर सहभागी छन् । प्रतियोगिताको शीर्ष दुई राष्ट्र अब पश्चिम क्षेत्रीय प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीसँग एसिया कप छनोटका लागि प्रतिस्पर्धा हुनेछ । पाकिस्तानमा हुने भनिएको एसिया कप अब सेप्टेम्बरमा दुबईमा हुनेछ ।

सम्बन्धित न्यूज

Back to top button