आहा ! रारा गोल्ड कपको फाइनलमा पुलिसलाई मनाङसँग बदला लिने मौका

पोखरा न्यूज । आहा ! रारा गोल्ड कपको इतिहासमा सर्वाधिक सफल नेपाल पुलिस क्लब शनिबार पोखरेलीहरुको लोकप्रिय टिम नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबसँग १८ औं आहा रारा गोल्ड कपको फाइनलमा भिड्ने भएको छ ।

शहिद स्मारक राष्ट्रिय लिगमा २-० को हार र हालै धरानमा सम्पन्न भएको बुढासुब्बा गोल्ड कपको फाइनल खेलमा पनि ३-१ को हार व्यहोरेको पुलिस भोलि (शनिबार) मनाङविरुद्ध हुने फाइनलमा बदला लिने दाउमा साथमा मैदानमा उत्रनेछ । मनाङ भने सिजनमा पुलिसविरुद्ध ह्याट्रिक जीत हासिल गर्दै आहा रारामा छैठौं उपाधिको खोजीमा हुनेछ ।

१८ औं आहा रारा सहित पुलिस आहा रारामा १६ पटकसम्म सहभागी हुदै ७ पटक फाइनलमा पुगेको हो भने १५ पटकसम्म प्रतियोगितामा सहभागी भएको मनाङको यो नवौं फाइनल हो । पुलिसले २०५८ सालको क्याराभान गोल्ड कप सहित प्रथम, छैटौं, सातौं, आठौं र १६ औं आहा रारा गोल्ड कपको उपाधि जित्दा मनाङले दोश्रो, तेश्रो, आठौं, १४ औं र १५ औं आहा रारा गोल्ड कपको उपाधि जितेको थियो । यसअघि क्याराभान गोल्ड कप सहित आहा रारामा ६ पटक उपाधि जितेकोे पुलिस मनाङसँग भने दुई फाइनलमा पराजित भएको छ । त्यस्तै मनाङले पनि क्याराभान गोल्ड कपमा पुलिससँग एक पटक हार व्यहोरे छ ।

नेपाल पुलिसले यसपालि नयाँ युवा खेलाडीहरु समेट्दै भरत शाहको कप्तानीमा मैदानमा उतार्ने तयारी गर्दा मनाङले भने प्रशिक्षक सहित दुई विदेशी खेलाडीहरु सहभागी गराएको छ । त्यस्तै १२ औं खेलाडीका रुपमा पोखरेली दर्शकको हुटिङको साथमा मनाङ उपाधि जित्ने लक्ष्यका साथमा कमल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिने तयारी गरेको छ ।

मनाङले गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लवलाई सेमिफाइनलमा ३-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनाला यात्रामा मनाङले झापा ११ लाई क्वाटरफाइनलमा पराजित गरेको थियो । त्यस्तै नेपाल पुलिस क्लबले अर्को  दाबेदार रुस्लान थ्री स्टार क्लबलाई सेमिफाइनलमा ३-० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । पुलिसले आयोजक सहारा क्लबलाई क्वाटरफाइनल खेलमा टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

मनाङका प्रशिक्षक फुजा टोपले आफुहरु आक्रमक शैलीमा फाइनल खेलमा उत्रिने तयारी गरेको जनाए । उनले भने “ नेपालको राम्रो टिम पुलिसविरुद्ध जित निकाल्न हामीलाई पनि निकै कठिन हुनेछ, यद्यपि लगातार दुई खेलमा मनाङलाई हामीले जितेको हुदा हाम्रा खेलाडीहरुमा मनोबल उच्च रहेको छ । ” मनाङका कप्तान कमल श्रेष्ठले प्रशिक्षकको रणनिती अनुसार प्रहरीविरुद्ध आफुहरु गोल गरेरै छाड्ने दाबी गरे । गतवर्ष लिगमा च्याम्पियन भएको मनाङ यसपालि लिगमा तेश्रो स्थानमा रहेको छ । मनाङलाई विगत दुई बर्ष देखि विदेशी प्रशिक्षकले हेर्दै आएका हुन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले फाइनल खेलमा आफुहरु ४-२-३-१ को रणनीतिमा खेल्ने बताए । पुलिसकै जस्तै युवा टोली भएकोमा पोखरेली दर्शकमाझ उत्कृष्ट फुटबल खेल प्रदर्शन गर्ने योजनामा आफुहरु रहेको उनले जनाए । आहा रारामा खेलाडी हुदा देखि हाल प्रशिक्षकसम्म हुदा आहा रारा आफुहरुलाई धेरै फापेको बताएका थापाले शनिबारको फाइनल खेलमा पनि उत्कृष्ट खेल प्रर्दशन गरी पोखरेली दर्शकको मन जित्ने टोलीको तयारी रहेको जनाए ।

पुलिसका कप्तान भरत शाहले यस अघिका खेलमा आफुहरुले निकालेको नतिजा जस्तै फाइनल खेलमा राम्रो नतिजा दिने बताए । दर्शकको साथ नहुदा केही मनोवल घट्ने भए पनि फाइनल खेलमा मनाङ भन्दा राम्रो खेल प्रदर्शन गर्ने उनले दाबी गरे। फाइनल खेलमा दुबैको सम्भावना फिफ्टी-फिफ्टी रहेको कप्तान शाहको भनाइ थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले स्कुटर तथा अन्य विधामा समेत उत्कृष्ट छनौट गरी पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा विजेता टोलीले १० लाख साथमा ट्रफी मेडल र प्रमाणपत्र  तथा उपविजेता हुने टोलीले ५ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको प्रतियोगिताका संयोजक हरिराम गुरुङ (सुरज) ले बताए । फागुन २२ गते देखि सुरु भएको प्रतियोगितामा भारतको एक टिम सहित १० टिमको सहभागिता रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

क्लबले सहारा फुटबल एकेडेमीको सहयोगार्थ विगत २०५८ साल देखि निरन्तर रुपमा फुटबल प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । एक अर्ब २८ करोडको लागतमा हालै निर्माण हुदै गरेको प्यारापिटसहितको अन्तर्राष्ट्रिय स्तरकै फुटबल मैदानमा १३ सागको महिला फुटबल पछि आहा राराको १८ औं संस्करण हुदैछ ।

सम्बन्धित न्यूज

Back to top button