गण्डकी प्रदेशसभाको बैठक लगातार ३ पटक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ ।

प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो ।

बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे । काँग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए । आफूहरूका माग सम्बोधन नहुँदासम्म काँग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो । -रासस

सम्बन्धित न्यूज

Back to top button