जापानमा कोरोना : डर छ, त्रास छ र पनि भन्छन सरकार छ….

जापान ।  २४ घण्टामा १७/१८ घण्टा लगातर कुदिरहने रेलभित्र प्रायजसो तिलको गेडासम्म पनि नअटाउला जस्तो खचाखच यात्रीहरु भरिएका हुन्थे । हरेक दिन मान्छेहरुलाई ठेलेर ढोका लगाउन (एकिइन) स्टेशन मेनहरुलाई हम्मे–हम्मे पर्दथ्यो । हरेक बिहान कार्यालय समयमा ट्राफीक सिग्नल भेट्न कतै रेल भेट्न कालो कोट लगाएका र कालो झोला बोकेर हुलका हुल मानिसहरु दौडिरहेका हुन्थे ।

साना नानीहरु स्कूलको झोला, पानीको वोटल र केही पाठ्य सामग्री बोकेर हर बिहान नयाँ ज्ञान आर्जन गर्न त्यही हुलहरु छिचोलेर सडकको छेवै छेउ भएर पाठशाला जान्थे । विश्वकै व्यस्त शहर जापानको राजधानी टोकीयोमा, बच्चादेखी वृद्धसम्म व्यस्त रहन्थे आ–आफ्नो क्षेत्रमा र दैनिक कार्य तालिकामा ।

हिजोआज माहोल फेरिएकोछ । रेल स्टेशन र सडकमा भेटिने मान्छेका हुलहरु धर्तीले निल्यो कि, आकासले लुकायो भने झैं चकमन्न लाग्छ । तर केही हुलहरु कोरोना भाइरसको संक्रमणबाट  बच्न मास्क किन्नको लागी मेडिकल स्टोर, सुपरमार्केट, कन्भिनन्स स्टोरहरुको अगाडी गएर लाइन लागीरहेको देख्न सकिन्छ । प्रत्येक बिहानको उनीहरुको दैनिकी जस्तै भएको छ ।

आजभोली विद्यार्थीहरु विद्यालय जॉंदैनन् । मुखैमा आइसकेको परिक्षा पनि कहिले हुन्छ, कुनै अत्तोपत्तो नहुने गरि जापानका विद्यालयहरु ठप्प भएका छन् । महोत्सव र सिजनल ईभेन्ट प्रोग्रामहरु पनि सबै रद्द भएका छन् । विश्वकै ठुलो र व्यस्त मानिने नारिता विमानस्थलमा जहाजहरु लाग्छ बर्षाैंदेखिको थकाई मार्दैछन् । तर पनि ५६ वर्षपछि  २०२० मा ओलम्पिकको जिम्मेवारी र करोडौं मान्छेहरुको उत्साहको भारी बोकेको जापान सरकारले हार मानेको छैन । नत जिम्मेवारीबाट पन्छिएको नै छ ।

सारा देशवासीको स्वास्थ्य स्थितिप्रति जुनसुकै कदम चाल्न परे पनि तत्पर रहने प्रतिबद्धता जापानिज प्रधानमन्त्री शिन्जो आबेले दोहो¥याइरहन्छन् । विश्व अर्थतन्त्रलाई जहाँको त्यहीं घुँडा टेकाउन थालेको कोरोना भाइरस चीन कोरिया हुँदै जापानमा पनि माहामारीको रुप नलेला भन्न सकिन्न । यद्यपी जापान  सरकारले गरेको यो प्रतिबद्धता संगै गर्नुपर्ने कामहरु पनि तदारुकताको साथ हुंदै गरेका छन् ।

शुरुवाती चरणमा चीनमा कोरोनाको प्रकोप बढ्दै गर्दा हङकङ, चीन, कोरिया हुँदै जापान आएको डाइमन्डक्रुज सिपलाई फेबु्अरी ५ मा नै तुरुन्त नियन्त्रणमा लिएर २ हजार ७ सय जना यात्रीहरुलाई १४ दिन सम्म कोरोना परिक्षण गरी संक्रमितहरुलाई तुरुन्त उपचार गर्ने काम तदारुकताको साथ गरिएको थियो । यसको लगतै जापानको बिभिन्न प्रान्तहरुमा बहुभाषी कोरोना भाइरस एप्स लन्च र २४ घण्टा हटलाइन सेवा सुचारु गरिएको छ । कोरोना भाइरसको शंका लागेमा फोन गरेर अस्पताल जान सकिने ब्यवस्था गरिएको छ । संक्रमित र आशंका लागेकाहरुको नि:शुल्क उपचार र रेखदेखको जिम्मा सरकारले लिने गरेको छ ।

फेबु्अरी २३ मा परेको जापानि सम्राट नारुहितोको जन्मदिनमा शुभकामना आदान प्रदान, उत्सव र अभिनन्दन समारोहरु स्थगित गराएर सम्पूर्ण देशवासीहरुको स्वास्थ्य र वर्तमान देशको स्थितीलाई मध्यनजर गर्दै संवेदनशीलता प्रति गम्भिर भएर जापान सरकारले विवेकपूर्ण कदम चालेर देशप्रेमको भावना संप्रेषण गरिरहेको छ ।

त्यस्तै देशका तमाम विद्यार्थीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै फेब्रुअरी २८ तारिखमा प्रधानमन्त्री बाट जापानका सबै विद्यालयहरुमा पठनपाठन बन्द गर्ने आदेश जारी गरिसकेका छन् । यसरी अचानक विद्यालय बन्द हुँदा बच्चाहरुमा मानसिक त्रास र घरमै बसिरहनुपर्दा मानसिक रुपमा स्ट्रेस नहोस भनि अभिभावकहरुले उनिहरुको रेखदेखको लागी छुट्टी लिन पाउने र छुट्टी अवधिभर पार्टटाइम र नियमित सबै कर्मचारीहरुलाई तलब तथाआर्थिक सहयोग गर्ने कुरा मार्च ३ तारिखमा पारित गरिएको छ । केही कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइन मार्फत  घरमा नै  बसेर काम गर्न भनेका  छन् ।
जापानका उद्योगमन्त्री हिरोसी काजियामाले व्यावसायिक क्षेत्रमा कोरोनाको संक्रमण नफैलियोस भनेर आफ्ना  कर्मचारीहरूलाई अनलाइनमा आधारित रहेर काम लगाउन कम्पनीहरूलाई अनुरोध गरेका छन् ।

बजारमा कागजजन्य वस्तुहरु टिस्युपेपर, मास्क, ट्वाइलेट पेपरहरुको अभाव भई आम मानिसहरु बिचलित भएको अवस्थामा तत्कालै मार्च ४ तारिखमा स्वास्थ्य मन्त्रिद्वारा सम्पूर्ण कागज जन्य कारखानाहरुले तुरुन्त मागलाई आपूर्ति गर्न सक्ने गरि उत्पादन गर्न, थोक या खुद्रा बिक्रेता कसैले पनि स्टक नगर्न र मूल्यबृद्धि नगरी वातावरण सहज बनाउन आह्वान गर्दै सम्पूर्ण देशवासी प्रति पर्न गएको असहजता प्रति झुकेर क्षमा मागेको तस्वीरको जापानिजहरुले सराहना गरेकाछन् । यद्यपी त्यसपछी तत्काल वातावरण अनुकुल बनेर अरु सामानहरु उपलब्ध भएपनि मास्क भने अझै सहज रुपमा पाउन सकिएको छैन ।

यस्तै फेब्रुअरी ९ तारिखमा प्रधानमन्त्री बाट ठप्प भएका ब्यापार ब्यवसाय र लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न बिना ब्याजमा ऋण उपलब्ध गराउने र हतोत्साहित नहुन आग्रह गरेका छन् । यस्तै फेब्रुअरी ११ मा प्रधानमन्त्रीद्वारा आगामी १० दिनको लागी ठुला खेलकूद र सॉंस्कृतिक कार्यक्रमहरु स्थगित गर्न आदेश दिइएको छ ।

जापानमा अहिले चीन, कोरिया, हङकङ, इटाली, इरान लगायत थुप्रै देशबाट जापान प्रवेश गर्न कडाई गरिएको छ । यो कडीकडाउ आगीमी जुलाई २४ बाट सुरु हुने टोकियो ओलम्पिक यथासक्य सोही मितिमा गर्न सक्ने अनुकुल वातावरण सृजना गर्नको लागी गरेको मानिएको छ ।  यद्यपी हालसम्म ओलम्पिकको तालिकामा कुनै परिवर्तन गरिएको छैन।

यो लेख तयार पार्दासम्म जापानमा  ६ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  १९ जनाको मृत्यु भइसकेको छ । महामारीको रुप धारण गरेको कोरोना भाइरसको संक्रमणका वावजुद जापानी जनता सरकारको कदम प्रति सन्तुष्ट छन् । उनीहरुले सरकारको तारिफ गरिरहेका छन् । जापानी जनता आफुहरु सचेत बनेका छन् अनि सरकारलाई पूर्ण विश्वास गरिरहेका छन् ।

जापानमा रहेका नेपालीहरुसमेत कोरोना संक्रमणको त्रासका वावजुत यहाँको सरकारको तयारी देखेर अतालिएका छैनन् । यहाँ  पढाइ, काम र व्यवसायको सिलसिलामा रहेका ८० हजार भन्दा बढी  नेपालीहरुले   आफ्नो मातृभूमि नेपालमा कोरोना संक्रमण नहोस् भन्ने कामना गर्दै देश र आफन्तको नाममा आ-आफ्ना भगवानहरु पुकारी रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button