आहा राराको उपाधि मनाङलाई, पुलिस टाइब्रेकरमा पराजित

पोखरा । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै नेपाल आयल मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

आज पोखरा रंगशालामा कोरोना भाइरसको प्रभावलाई वेवास्ता गर्दै फाइनल खेल हेर्न ओइरिएका दर्शक माझ मनाङले रोचक जीत दर्ता गर्दै आफ्नो छैटौं आहा रारा कपको उपाधि उचालेको हो । नियमित ९० मिनेटमा दुवै टोली राम्रा राम्रा अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा खेल शुन्य शुन्यको बराबरीमा अतिरिक्त समयका लागि लम्बिएको थियो । थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसक्दा टाइब्रेकरमा पुगेको खेलमा मनाङले अनन्त प्रहरीको चुनौती पन्छाउदै उपाधि चुम्न सफल रह्यो ।

टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिके र रन्जन विष्टले गोल गरेका थिए भने निशान लिम्बुको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए । त्यस्तै पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बलको प्रहारले जाली चुम्दा अजित भण्डारी र तेज तामाङको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बन्न पुगे ।

उपाधिसँगै मनाङले १० लाख नगद जितेको छ भने उपविजेता पुलिस ५ लाखमा सीमित हुन पुगेको छ ।

सम्बन्धित न्यूज

Back to top button