कोरोनाका नाममा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गरिने : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी समस्याका रुपमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न र प्रतिकार्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन आवश्यक तयारी गरिएको जानकारी दिए ।

उच्चस्तरीय निर्देशन समितिका समेत संयोजक रहेका मुख्यमन्त्री गुरुङले आवश्यक स्रोतसाधनको अधिकतम उपयोग गर्दै रोकथामको पूर्ण तयारी गरिएको बताए । कोराना सङ्क्रमणका नाममा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गरिने उल्लेख गर्दै उनले यस सम्बन्धमा अनुगमन प्रभावकारी बनाइएको बताए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना सङ्क्रमण भित्रिन नदिन पूर्वसजगता अपनाइसकिएको बताउँदै आवश्यक सम्पूर्ण तयारी गरिएको बताइन् । कोरोनाका सम्बन्धमा आवश्यकताभन्दा बढी अफवाह फैलाइने गरेको बताउँदै उनले जनतालाई आतङ्कित नहुने गरी यसतर्फ सचेतना जगाउनु सञ्चारमाध्यमको कर्तव्य भएको उल्लेख गरिन् ।

कास्कीका प्रजिअ रमेश केसीले कृत्रिम अभाव देखाएर अनावश्यक मूल्यवृद्धि गर्ने दुई औषधि पसललाई रु ५०/५० हजार जरिवानासहित कारवाही गरिसकिएको बताउँदै यस्तो अवस्थालाई निरुत्साहित गर्न सर्वसाधारणमा सजगता एवम् सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।

गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र कास्कीको पोखरामा पाँचजनाको कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा परीक्षण गरिएकामध्ये पनि दुईजना सङ्क्रमण मुक्त रहेका स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरा र म्याग्दीका एक। एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरूको रगतको नमूना परीक्षणका लागि सङ्घीय प्रयोगशाला काठमाडौँ पठाइएकामा रिपोर्ट नेगेटिभ आएको हो । तीमध्ये एकजना कोरियाबाट फर्किएका व्यक्ति हुन् ।

उनका अनुसार रिपोर्ट आउन बाँकी तीनजनालाई क्वारेन्टाइनमा राखिएकाले कोरोना भाइरसको सङ्क्रमण भएका र शङ्कास्पद व्यक्तिलाई राख्नका लागि पोखराका विभिन्न अस्पतालमा ७० श्ययाको ‘आइसोलेशन’ तयारी गरिएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कर्मचारी तथा मजदूर चीनबाट नै कोरोना सङ्क्रमण नभएको स्वास्थ्य प्रमाणपत्रसहित आएका उक्त अवसरमा जानकारी गराइयो ।

गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाका आइसोलेशन वार्ड पिपिईको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइसक्नाका साथै तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button