इटालीमा कोरानाका कारण मृत्यु हुनेको सङ्ख्या १४ सय नाघ्यो

इटाली । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४ सय ४१ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७ सय ५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।

त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १ सय ४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

चीनमा तीन हजार १ सय ९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८ सय ४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।

तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२ सय ९ जना सङ्क्रमितमध्ये ६ सय ११ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दक्षिण कोरियामा आठ हजार १ सय ६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३ सय ९१ जना बिरामी भएका छन् भने १ सय ९६ जनाको मृत्यु भएको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button