राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख। ‘आफूलाई जङ्गलका राजा’ ठान्ने एक मात्र घुमन्ते जाति राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

पश्चिम नेपालमा विभिन्न जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शनिबार दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली र वडा नं ८ का अध्यक्ष पूर्णबहादुर ओलीले भत्ता वितरण गरे।

उनीहरु हाल बस्दै आएको स्थान वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा गई राउटे समुदायका ४६ घरपरिवारलाई भत्ता वितरण गरिएको अध्यक्ष ओलीले बताए ।

“छयालीस घरपरिवारका १ सय ५१ जना सदस्यलाई मासिक रु तीन हजारका दरले भत्ता वितरण गरिएको हो”, उनले भने “तीन महिनाको प्रतिव्यक्ति रु नौ हजारका दरले वितरण गरियो ।”

समुदायका सबै सदस्यलाई समान तरिकाले भत्ता वितरण गर्ने गरिएको छ । राउटे गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएकाले उनीहरु जहाँ गए पनि गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरेको छ ।

उनीहरुलाई गत वर्ष मात्र गाउँपालिकाले स्थायी परिचयपत्र दिएको थियो । गाउँपालिका–८ मा बस्दै आएका उनीहरु हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जरबुटामा बस्दै आएका छन् ।

सम्बन्धित न्यूज

Back to top button