गण्डकी प्रदेशबाट करिब ४८ हजार विद्यार्थीले एसइइ दिँदै

पोखरा । भोलि बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५ सय १३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २ सय २० परीक्षा केन्द्र निर्धारण गरिएको का शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिए । प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको एसइई परीक्षमा १० हजार ८ सय ४० जना परीक्षार्थी सहभागी हुने भएका छन् । कूल २ सय ८९ विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । बत्तीस केन्द्र मध्ये पोखराको तालबाराही मावि परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष छन ।

सुवेदीका अनुसार परीक्षाका लागि आवश्यक उत्तपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पुर्याइसकिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिन प्रत्येक परीक्षाका केन्द्रमा एउटा कोठा आइसोलेसन कक्षका रुपमा छुट्याउन निर्देशन दिइएको र आवश्यकता अनुसार ‘हेल्थ डेक्स’ पनि स्थापना गर्न सकिने उनले जानकारी दिए ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन आजै शिक्षक महासङ्घसहितका विभिन्न पेशागत सङ्घ सङ्गठनका पदाधिकारीबीच पनि छलफल गरिएको बताउँदै उनले सुरक्षालगायतका सम्पूर्ण व्यवस्था गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी बन्न विद्यार्थीलाई आग्रह गरे । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button