कोरोनाबाट १३ हजारको मृत्यु, ३ लाख बढी संक्रमित

पोखरा न्यूज। महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८ सय २९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको थियो । हाल ४२ हजार ६ सय ८१ जना सङ्क्रमित रहेको इटालीमा ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिएका छन । करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । तर चीनमा ७२ हजार ४ सय ४० जना निको भएका थिए ।

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । कोरोनाकै कारण एक हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय १५ जना सङ्क्रमित रहेका छन् । सात हजार ६०० जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमणका कारण एक हजार ३ सय ८१ जनाको मृत्यु भएको छ । हाल २१ हजार ९ सय ९० जना सङ्क्रमित रहेका छन् । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार सङ्क्रमित रहेका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ सय ४८ जनाको मृत्यु भएको छ । हाल अमेरिकामा २६ हजार सङ्क्रमित रहेका छन् भने १ सय ७८ जनाको उपचार गरिएको छ । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ । हाल १२ हजार ३ सय  भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८ सय ८४ जनामा अझै पनि सङ्क्रमण छ ।

कोरोनाभाइरस सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २ सय ३३ जना, नेदरल्याण्ड्समा १ सय ३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा ३ सय ३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । छ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन् ।

विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै “लकडाउन” घोषणा गरिएको छ । एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् ।

कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button