पोखरामा लकडाउन उल्लंघन गर्ने ३ सय ७५ सवारीसाधन नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले पोखरा क्षेत्रमा लकडाउन उल्लंघन गर्ने ३ सय ७५ सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै पोखरा क्षेत्रमा चलाएका ३ सय ७५ वटा मोटरसाइकल , स्कुटर लागायतका साना सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा अधिकांश मात्रामा मोटरसाइकल र स्कुटर रहेको र केहि जीप भ्यान जस्ता साना सवारी रहेका छन् ।

लकडाउनको पहिलो दिन बर्तमान अवस्थालाई कम आकलन गरेर सामान्य  चाडबाडको विदा जस्तो सोचेर सवारी संचालन गर्नेहरुको सवारीसाधन नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । ‘हामीले परिस्थितिको गम्भीरतालाई नबुझेर चाडबाडको छुट्टी जस्तो ठानेर रमाइलो गर्ने किसिमले व्यक्तिले चलाएका सवारीसाधनहरु नियन्त्रणमा लिई साँझ सम्झाई बुझाई गरी छाडेका छौ,’ एसपी कार्कीले प्रष्ट पार्दै भने, ‘केहीलाई पहिलो दिन भएकाले अप्ठारो परेर अथवा व्यवस्थापन गर्न गाह्रो परेको महशुस गरी छाड्यौ, भोलिबाट पूर्ण रुपमा कडाई गर्दै कानुन अनुसार कारवाही समेत गर्छौं ।‘ एसपी कार्कीले शुरुमा सर्वसाधारणहरु नबुझेर सडकमा निस्किएको भएपनि प्रहरीको सक्रियता र आग्रहका कारण २/३ बजेपछि सबैजना घरमै बस्न थालेको बताए ।

पोखरा लगायत कास्कीमा अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि, ग्यास तथा पेट्रोलियम पदार्थ लगायत पशुपंछीको दानाको ओसारपसार गर्ने सवारीसाधनलाई निर्वाधरुपमा संचालन गर्न दिइएको एसपी कार्कीले जनाए ।

केही आवश्यक ठानिएका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यलय कास्कीबाट सवारी पास वितरण भएको जनाउदै एसपी कार्कीले त्यस्ता पास लिएका सवारीसाधनको गलत प्रयोजन भएमा सवारी जफत गरी कानुनबमोजिम कारबाही गरिने एसपी कार्कीले चेतावनी समेत दिए ।

एसपी कार्कीले लकडाउनको मर्मलाई बुझेर अत्यावश्यक अवस्थामा बाहेक  सबैजनालाई  घरमै बस्न आग्रह समेत गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button