अनन्त : २०२१ सम्मका लागि ओलम्पिक स्थगित

पोखरा न्यूज। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सन् २०२० मा आयोजना हुने भनिएको ओलम्पिक खेलकुद सन् २०२१ सम्मका लागि स्थगन गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल र आयोजक जापानका प्रधानमन्त्री सिन्जो आबेबीचको छलफल पश्चात् ओलम्पिक २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो । अब ओलम्पिक कम्तिमा २०२१ को ग्रीष्म अघि नहुने तर प्रतियोगिता आयोजना भए “२०२० टोकियो ओलम्पिक” नामबाट नै हुने पनि जानकारी दिइएको छ ।

आइओसीले आज जारी गरेको वक्तव्यमा खेलाडी लगायत ओलम्पिकसँग सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनको सल्लाह एवम् अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल र आयोजक जापानका प्रधानमन्त्री सिन्जो आबेले २०२१ सम्मका लागि प्रतियोगिता सार्ने निर्णय गरेको जनाइएको छ ।

आबेले आधिकारिक जानकारी दिए पछि बोल्दै २०२१ मा प्रतियोगिता आयोजना हुनु मानव जातिको कोरोना संकट माथि विजयको प्रतीक हुने प्रतिक्रिया दिएका थिए । आइओसीले यस अघि ओलम्पिक सार्ने निर्णय चार हप्ता पछि मात्र लिइने बताएको थियो तर कोरोनाको महामारी अझै व्यापक बनेसँगै विश्वभरबाट ओलम्पिक सार्न दबाब आउन थालेपछि प्रतियोगिता सार्ने निर्णय छिटो लिन आयोजक बाध्य भएको जनाइएको छ ।

युद्धको अवस्थाबाहेक यस अघि कहिले पनि ओलम्पिक स्थगित भएको ईतिहास छैन । केही दिन अघि ग्रीसबाट ल्याइएको ओलम्पिक फ्लेम भने अब जापान मै रहने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button