प्रम ओलीलाई थापाको पत्र : नेपाल भित्रिएका हजारौ नागरिकको कोरोना परीक्षण गरौं

काठमाण्डौ। नेपाली कांग्रेसका  केन्द्रीय सदस्य गगन कुमार थापाले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै पछिल्लो समय नेपाल भित्रिएका हजारौ नागरिकको कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कोरोना भाइरस (कोभिड -१९)को परीक्षण दायरा बढाउन आग्रह गर्दै कोरोना संक्रमण फैलिएका राष्ट्रबाट स्थलमार्ग र हवाईमार्ग हुदै नेपाल प्रवेश गरेका हजारौ नेपाली तथा विदेशी नागरिकको कोरोना परीक्षण गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्र सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले कोरोनाको महासंकट विरुद्ध हाल भैरहेको प्रयास पर्याप्त नभएको जनाएका छन्।

पत्रमा उनले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै दशौ हजारको संख्यामा कोरोना प्रभावित मुलुकबाट भित्रिएका नागरिक सहित हजारौको संख्यामा ठाउँ ठाउँमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने, हरेक प्रदेशमा तत्काल परीक्षण शुरु गर्नुपर्ने भन्दै उनले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रयोगशालाका अधिकारीहरुले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण शुरु गर्न सकिन्छ भनिरहेको भन्दै उनले त्यसलाई सुन्न र मापदण्ड पुगेका निजी प्रयोगशालाहरुमा पनि परीक्षण शुरु गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीज्यू एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्याबहरुसँग सहकार्य र नयाँ प्रविधिबाट काठमाडौं बाहिर दर्जनौं ठाउँमा कोभिड १९ टेस्टिङ गर्‍यौं भने हजारौं परीक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं ।’

परीक्षणमा गुणस्तर कायम गर्न आवश्यक प्रोटोकल बनाउन सकिने भन्दै उनले भने अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा समेटौं ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button