लकडाउनको समयको सदुपयोग घरपरिवारसँग

पोखरा । कोरोना संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक काम बाहेक हिडडुल गर्न दिइएको छैन । कोरोनाको संक्रमण फैलने सन्त्रासका कारण समेत घर बाहिर निस्कने चेष्ठा सचेत नागरिकले गरेका छैनन् । अधिकांशले घरपरिवारसँग बसेर यतिबेलाको समय सदुपयोग गरिरहेका छन् ।

अरु समयमा आफ्नै काम र कार्यक्रमका कारण घरपरिवारलाई पर्याप्त समय दिन कलाकारिता क्षेत्रमा लागेका असमर्थ हुन्थे । तर अहिले भएको लकडाउनको समय भने अधिकांशले घरपरिवारसँग बिताइरहेका छन् । कोहिले घरायसी काममा सघाइरहेका छन्, केहिले बाँकी रहेको काम पुरा गर्न खोज्दैछन्, कोही यहि समयमा नयाँ सिर्जना तयार पार्ने अभियानमा समेत लागेका छन् । विश्वभरी फैलिएको कोरोनाको संक्रमणका कारण स्वदेशमा मात्र नभएर विदेशमा रहेका कलाकारको अवस्था पनि उस्तै छ ।

गायक कर्णदास घरमानै बसेर यो समयको सदुपयोग गरेको बताउँछन् । ‘मुभी, म्युजिक, म्याजिक अनि मस्तिको साथमा लकडाउनको समय बिताइरहेको छुँ’उनले भने । साथमा परिवारको साथमा खाने, बस्ने गर्दा समय बिताउन सहज भइरहेको उनले सुनाए ।
वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला यतिबेला घरमानै छन् । लामो समयसम्म रुखाखोकीले सताएपनि अहिले स्वास्थयमा सुधार भइहेको उनले बताइन् । उनी भन्छिन्–‘लामो समयदेखि रुघा खोकी लागेको थियो, अहिले ठिक हुँदैछ, घरमा आराम गरिरहेकी छुँ ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ दीप हाउजिङमा रहेको छोरी सरस्वती प्रतिक्षाको घरमा छन् । ‘नातीसँग खेल्ने, केहि पढ्ने, केहि लेख्ने गरेर समय बिताउदैछु’ उनले भने । कोरोना सम्बन्धी समाचार हेर्दा तर्साउने गरेको भएपनि केहि समयमा दुनिया यो भाइरसबाट मुक्त भई पहिलाकै अवस्थामा फर्कने उनको आशा छ ।

रंगकर्मी अनुप बराल पोखरामानै छन् । उनी भन्छन् – ‘म होम क्वारेन्टाइनमा नै छु । आफनो गृहनगर पोखरामा । हरेक बिहान आधघन्टा जति म योगको आसन र अनुलोम विलोम गर्छु । त्यसपछि घरको कम्पाउन्ड को सरसफाई र गोडमेल तिर आफुलाई लगाईरहेको छु । यसो गर्दा प्रकृति लाई एउटा अलग तरिकाले महसुस गर्न सकिदोरहेछ । बर्षौ देखि गर्न छोडिएको काम हो यो । दिउँसोको समय सृजनात्मक होस जस्तो लाग्छ । म उसै पनि दिउँसो कहिल्यै सुत्दिन । यो समयमा किताबहरु पढने गर्छु । केहि ‌विचार आएछ भने त्यसलाई टिप्छु पनि । एक दुई बर्ष‌अघिदेखि किनेका किताबहरु उत्तिकै थातीमा थिए ।

अहिले यो समय तिनलाई पढने अवसर भएको छ ।‌ अहिले पढिरहेको मध्येमा एउटा किताब त साच्चै मजा आयो पढन । केन डेन्सीजर र जेफ रशले सयुक्त लेखेको अल्टरनेटिभ स्क्रिप्ट राईटिड्ग । फिल्म पनि हेरि रहेको छु । दिया सग बसेर हरेक साझ एउटा फिल्म हेर्ने उद्धेश्य नै राखेका छौ । नेटफिलीक्स को सिरिजहरु र ल्यापटप र हार्ड ड्राइभ राखेका फिल्महरु छानी छानी हेर्छौ । छ सात वटा सिनेमा त यो लक डाउन भएपछिका तीन दिनहरुमा हेरि सक्यौं । केहि समय साथी भाई र आफन्त हरुसंग कुराकानी हुन्छ फोनमा । नत्र परिवार सँगनै समय बिताई रहेका छौ । दिनको दुई टाईम न्युज पढछौ र हेर्छु पनि टेलिभिजनमा । धेरै अनावश्यक र वाहिहात न्युज, बिशेष गरेर सोसल नेटवर्कका त अभोईड नै गर्छु । यस्ता न्युजले मानिसहरु लाई अहिलेको बेलामा नेगेटिभीटि र त्रासको भावना खडा गर्नु बाहेक केहि गर्दैनन ।’

साँगीतिक कलाकार संघ पोखराका अध्यक्ष सुनिल थापा पोखरा नदिपुरमा घरपरिवारको साथमा बसेर समय बिताउदैछन् । उनी भन्छन् ‘घरको काम गर्ने, सामाजिक सञ्जालमा भएका समुहमा कुरा गर्ने, साथीहरुसँग फोनमा कुराकानी गर्ने गरेको छुँ ।’ समाचारहरु पढ्ने, रियाज गर्ने मात्र नभएर आफ्नो क्षेत्रसँग सम्बन्धित रचनात्मक काम गर्दै समय बिताइरहेको उनले बताए । पोखरा थिएटरका अध्यक्ष परिवर्तन आफ्नो जन्मघरमा बसेर यो समय बिताइरहेको बताउँछन् । घरायसी काम सहित केहि रचनात्मक काम गर्दै यो समयको सदुपयोग गर्दैछु उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button