कोरोना संक्रमण देखिएकी युवतीको बागलुङको धौलागिरि अस्पतालमा उपचार हुँदै

पोखरा । शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकाकी युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा पुर्याएर उपचार थालिएको छ ।

घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कोरोना पुष्टि भएपछि शनिबार साँझ उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा पुर्याइएको बागलुङ नगरपालिकाका मेयर जनक राज पौडेलले जानकारी दिए ।

चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी काठमाण्डौकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही बिमानमा आएकी उनी  संक्रमणको आशंकामा नमुना संकलन गरेपश्चात पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकोमा संक्रमण पुष्टि भएपछि शनिवार साँझ अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएको मेयर पौडेलले बताए ।

उपचारमा संलग्न चिकित्सकको भनाई उदृत गर्दै मेयर पौडेलले आइसोलेशन वार्डमा उपचाररत उनको अवस्था सामान्य रहेको पोखरा न्यूजलाई बताए । तर आइसियुमा राख्नुपर्ने अवस्था आए अस्पतालमा आइसियु नरहेकाले उनलाई त्यहिँ राखेर उपचार गर्ने की पोखरा अथवा काठमाण्डौ पठाउने भन्नेबारे छलफल गर्न लागिएको मेयर पौडेलले जनाए । काठमाण्डौबाट चिकित्सक सहितको एक टोली संक्रमितको अवस्था बुझ्न आउदै गरेको जानकारी दिदै मेयर पौडेलले टोलीको निर्देशनको आधारमा अघि बढिने बताए । उनले भने, ‘आज काठमाण्डौबाट चिकित्सक सहितको एक टोली यहाँ आउदै हुनुहुन्छ उहाँहरुको राय अनुसार के गर्ने भन्ने निर्णय हुन्छ।‘

युवतीमा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको जानकारी लिन थालिएको बताउदै मेयर पौडेलले कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुको स्वाब परीक्षण गरिने जनाए । जिल्लामा संक्रमण देखिएपछि कोरोनाको नमुना संकलनका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), स्याम्पल कलेक्सन गर्ने भीपीएम लगायतका उपकरणको अभाव रहेको भन्दै व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायलाई आग्रह गरेको मेयर पौडेलले जनाए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले संक्रमित किशोरीलाई स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेशनमा राखिएको बताउदै उनको अवस्था अहिलेसम्म सामान्य नै रहेको जनाए । डा. पोखरेलले उच्च ज्वरो, स्वासप्रश्वास तथा अन्य जटिल लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा उपचारको लागि पोखरा अथवा काठमाण्डौ पठाउनुपर्ने जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button