पोखरामा ३० सडक बालबालिकाको उद्धार

पोखरा। पोखरा महानगरपालिकाले कास्की प्रहरीको सहयोगमा पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई उद्धार गरेको छ ।

कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि कास्की प्रहरीको सहयोगमा महानगरले उद्धार गरेको हो । शनिबार उद्धार गरी उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्ड्रेन नेपालको भवनमा राखिएको छ ।

महानगरपालिका प्रमुख मानबहादु जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धुव्रकुमार पोखरेलसहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई त्यहाँ राख्ने व्यवस्था मिलाएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । महानगरले करिब १० दिनलाई पुग्ने खाद्यान्न साथै बसोबासको लागि आवश्यक बेडको पनि व्यवस्था मिलाएको पौडेलले बताए ।

कोरोना संक्रमणबाट बचाउनको साथै उनीहरुलाई परामर्श दिएर समाजमा पुर्नस्थापित गर्ने गरी महानगरले सडक बालबालिकालाई उद्धार गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उद्धार गरिएका बालबालिकाका अभिभावक वा आफन्तको खोजी गरी उनीहरुलाई परिवारको जिम्मा लगाउने र परिवारको पत्ता नलागेकालाई कसरी समाजमा पुर्नस्थापित गर्न सकिन्छ त्यसतर्फ महानगरले काम गर्ने जिसीको भनाइ छ । ती बालबालिकालाई नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिनेछन् ।

उपप्रमुख मञ्जुदेवी गुरुङले चिल्ड्रेन नेपालको भवनमा राखिएका बालबालिकालाई उचित परामर्श दिएर उनीहरुलाई समाजमा घुलमिल गराउन महानगरले पहल गर्ने बताइन् । महानगरले पनि उनीहरुलाई परामर्श दिनको लागि परामर्शदाता व्यवस्था गर्ने उनको भनाइ छ ।बालबालिकाको रेखदेखको लागि चिल्ड्रेन नेपालले पनि २ जनालाई खटाएको छ भने संस्थाको तर्फबाट उनीहरुलाई परामर्श दिइने चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

लेबाडे पुगेका केही बालक निकै खुसी देखिन्थे भने उनीहरुले जाम खुलेपछि आफू घर गएर पून यही आएर बस्ने बताएका छन् । ‘म, जाम खुलेपछि घर गएर आउँछु है, मलाइ घरमा लगिदिनु,‘ एक बालकले भने,‘घर गएर म, फेरि यही बस्न आउने हो, मोटाए पछि मात्र घर जान्छु अब सडकमा बस्दिन ।’ महानगरपालिकाले उनीहरुलाई सरसफाइको साथै स्वास्थ्य जाँचको पनि व्यवस्था मिलाउने स्वास्थ्य महाशाखाका अधिकृत फूलदेव तिमिल्सिनाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button