लकडाउनलाई प्रभावकारी बनाउन स्वयंसेवी खटाइयो

धुर्बसागर शर्मा । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी खटाइएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाइएको हो । सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येक घरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरस सम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउने गरेका महिला स्वयंसेविका पुष्पा गर्वुजाले बताइन ।

पहिलो चरणमा रघुगंगा गाउँपालिका वडा नं १ बाट शुरु गरिएको यो अभियान गाउँपालिकाका ८ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। “आठ वटै वडामा जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाएर क्वारेन्टाइनदेखि बस्ती बस्तीमा जनतालाई सरकारको निर्णयसंगै कोरोना भाइरसको जोखिम न्यूनीकरणको अभियानलाई सक्रिय बनाउँछौं”, उनले भने । अध्यक्ष भण्डारीले भने, “स्वयंसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ, समुदायमा उनीहरुले दिएको योगदानको उचित मूल्याङ्कन हुन्छ ।”

अनावश्यक काममा घर बाहिर जाने, भिडभाड र खेलकूदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरुले होम क्वारेन्टाइनमा वस्न आनाकानी गर्ने गरेकाले जनप्रतिनिधिसंगै स्वयंसेवकहरु परिचालन गरिएको उहाँको भनाइ छ । स्वयंसेवकलाई दैनिक रु ८ सय भत्ता र खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । उत्कृष्ट काम गर्नेलाई सम्मानसमेत गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिका भित्र हरेक वडामा निर्मित क्वारेन्टाइनमा अहिलेसम्म ११ जना आएका छन् । चैत १ गते यता आएका र क्वारेन्टाइनमा आउन आनकानी गरेकालाई जनप्रतिनिधिले सवारीसाधन लिएर उनीहरुका घरमा नै जाने योजना रहेको समेत अध्यक्ष भण्डारीले बताए ।

लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ६ काटुर्न मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६१ नम्बरको जीपसहित त्यसका चालक बेनी नगपालिका—८ का सुनिलकुमार शाह र सहचालक जलजला गाउँपालिका- ३ का असल परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि अत्यावश्यक वस्तु र सेवामात्र सञ्चालनको आदेश जारी गरेको अवस्थामा अत्यावश्यक वस्तुको नाममा मदिराको ओसार पसार गरेको पाइएकाले दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धुर्बप्रसाद शर्माले जानकारी दिए ।

बरामद भएको मादक पदार्थ तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाइएको छ । यस्ता क्रियाकलाप निषेधाज्ञाविरुद्धका कार्यहरु भएकाले पक्राउ परेकालाई सङ्क्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने व्यवस्था छ ।

पाँच महिला सहित ३३ जना क्वारेन्टाइनमा

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ वेडको क्वारेन्टाइनमा ३३ जना बसेका छन् ।

बनी नगरपालिका, मङ्गला र रघुगंगा गाउँपालिकाका गरी अहिलेसम्म विदेशबाट आएका ५ महिला र २८ पुरुष क्वारेन्टाइनमा बसेको रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए । “विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय स्थानीय तहको छ”, उनले भने, “विदेशबाट आएकाहरु धमाधम सम्पर्कमा आउनुभएको छ, चैत १ गते यता विदेशबाट आउनुभएकाहरु अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ ।” क्वारेन्टाइनको एउटा कोठमा एक जनालाई मात्र राख्ने प्रयास गरिएकोमा त्यो सम्भव नभएपछि दुई जनालाई राखिने बताइएको छ ।

स्थानीयतहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गर्दै क्वारेन्टाइनमा निःशुल्क खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा रहेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button