कास्कीको सिक्लेसमा सूचना केन्द्र स्थापना

पोखरा न्यूज । जिल्लाको मादी गाउँपालिका–१ को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकलाई सूचना तथा जानकारी उपलब्ध गराउन सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको १०० पर्यटकीय गन्तव्यमा समेत परेको सिक्लेस गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचना तथा पर्यटकीय स्थलका बारेमा अवगत गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

देशमा चलेको तत्कालीन १० वर्षे सशस्त्र सङ्घर्षको शान्तिपूर्ण अवतरणका लागि सिक्लेसबाट शुरु भएको शान्तिवार्ता सफल भएकाले यो ठाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित छ । तत्कालीन विद्रोही पक्षको नेतृत्व गर्नुभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीबीच पहिलोपटक सिक्लेसमा नै वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले घरवास प्रबर्द्धन कार्यक्रमअन्तर्गत होमस्टेमा पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको रु १० लाख अनुदान तथा गाउँपालिकाको रु एक लाख गरी रु ११ लाख बजेटबाट सूचना केन्द्रको स्थापना भएको हो । दुई हजार २०० मिटर पदयात्रामार्ग र प्रतीक्षालय निर्माण गरिएको सिक्लेस घरवास पर्यटनका सचिव पदम गुरुङले बताए । गत वर्ष यहाँका २० घरमा घरवास शुरुआत गरिएको थियो ।

सिक्लेसस्थित बसपार्कमा एक कोठाको भवनमा सूचना केन्द्र स्थापना गरी गाउँका घरवास पर्यटन, होटल, पर्यटकीय गन्तव्य तथा गाउँका विशेषताका बारेमा जानकारी उपलब्ध गराइने उनको भनाइ छ । केन्द्रमा एक जना कर्मचारीसमेत नियुक्त गरिएको छ ।

त्यसैगरी घरवास पर्यटन पूर्वाधारका लागि विनियोजित बजेटबाट चायकोबाट रिसिङ डाँडासम्म दुई हजार ३०० मिटर लामो पदयात्रा मार्ग निर्माण गरिएको समितिका अध्यक्ष ताइमाया गुरुङले बताए । पदमार्गमा पर्यटकलाई सहजताका लागि प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

यहाँको क्वफुचे हिमताल, हिमपहिरो हेर्न सकिने रिसिङडाँडा, तारा हिलटप, गुुराँसको जङ्गल तथा ‘सिक्लेस इको म्युजियम’ले पर्यटकलाई आकर्षित गरेको छ । सिक्लेसबाट चार घण्टाको पैदलयात्राबाट विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिएको हिमताल पुग्न सकिन्छ ।

त्यसैगरी गत वर्ष मात्र निर्माण गरिएको शान्ति स्मारकले समेत पर्यटक तान्ने गरेको छ । नेपालको शान्ति प्रक्रियाको अध्ययनका लागि समेत स्वदेशी तथा विदेशीसमेत यहाँ आउने गरेको बताइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसमा कार्यरत मधु बरालले वार्षिक सातदेखि आठ हजार आन्तिरक तथा बाह्य पर्यटकले यहाँको भ्रमण गरेको जानकारी दिए । -रासस

सम्बन्धित न्यूज

Back to top button