पर्यटन प्रबर्द्धन गर्न घान्द्रुकमा ‘घोडा दौड’

पोखरा न्यूज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ ।

घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध साँस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आज (आईतबार) घान्द्रुकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

समितिका अध्यक्ष राज बहादुर गुरुङले मौलिक संस्कृति तथा चार्डको संरक्षणसँगै पर्यटन प्रबर्द्धनमा सघाउ पुर्याउने उद्देश्य सहित उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी देशभर कार्यक्रम भैरहेको छ, उनले भने, ‘घान्द्रुकबाट पनि पर्यटन प्रबर्द्धनको पक्षमा सन्देश जाओस भन्ने हिसाबले घोडा दौड गरेका हौं ।’

उनले कोरोना भाईरसका कारण बाह्य पर्यटकको आवगमनमा सुस्ताएको बताउदै पर्यटकलाई घान्द्रुकमा भित्राउन योगदान पुग्ने बताए । ‘कोरोना भाइरसले गर्दा पाहुना नै आउन पाएका छैनन् नेपाली पर्यटनको प्रबर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’ उनले भने । अध्यक्ष गुरुङले सडकको पहुँच नभएको कास्कीको उत्तरी भेगमा ढुवानीको लागि खच्चडलाई प्रयोग गरिदै आएको बताउदै संरक्षणमा टेवा पुग्ने धारणा राखे ।

त्यस्तै प्रतियोगिता संयोजक तथा पर्यटन व्यवसायी बिक्रम गुरुङले उक्त दौडबाट च्याम्पियन बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार प्राप्त गर्ने बताए । त्यस्तै उनका अनुसार द्धितीय र तृतीय बन्नेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ३५ र २५ हजार हात पार्नेछन् ।

उनले उक्त दौड हिबाल क्यु (न्यू ब्रिज) देखी सुरु भई खोलोभ्रो (घान्द्रुक बसपार्क) मा आएर निर्धारित ५.५ किलोमिटर दुरी पुरा गर्नुपर्ने बताए । उनले अन्नपूर्ण गाउँपालिका ११ क्षेत्रमा ८० बढि घोडा रहेको बताउदै प्रतियोगितामा अनुमानित ४० घोडाको सहभागिता रहने बताए । गुरुङले उक्त दौडमा सहभागी हुनको लागि प्रत्येक घोडाको ३ हजार रुपैया निर्धारण गरिएको बताए ।

उनले सो दौडमा मुस्ताङ, म्याग्दी, घोरेपानी तथा पोखराबाट प्रतिस्पर्धाका लागि सहभागिता रहने बताए । ‘एक पटकमा ८ वटा घोडा कुदाउछौ, उनले भने, ‘बाटो साँघुरो छ पछि सबै सकिएपछि समयको आधारमा च्याम्पियन घोषणा गर्नेछौं ।’ फागु पूर्णिमाको दिनभर सञ्चालन हुने सो कार्यक्रममा स्थानिय कलाकारहरुले तमु समुदायमा प्रचलित नृत्यहरु समेत प्रस्तु गरिने समितिका सचिब हिमाल गुरुङले जानकारी दिए ।

उनले उक्त कार्यक्रमका बीच खुल्ला घैटो फुटाउने, आमा समुहरुका लागि मेच घुमाई तथा १० बर्ष मुनिका बालबालिकाहरुलाई बेलुन फुटाउने प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । सो कार्यक्रम सम्पन्न गर्नको लागि अनुमानित कुल ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button