पोखरा रंगशाला भित्र अन्तर्राष्ट्रिय स्तरका थप २ स्क्वास कोर्ट निर्माण हुने

दीननाथ बराल, पोखरा न्यूज । पोखरामा चालु आर्थिक बर्ष २०७६/७७ मा पोखरा रंगशाला भित्र थप दुई वटा स्क्वास कोर्ट निर्माण हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा चालु आर्थिक वर्ष भित्र सकिने गरी रंगशाला भित्र थप दुई वटा अन्तर्राष्ट्रिय स्तरकै स्क्वास कोर्ट निर्माण हुने भएको कास्की जिल्ला स्क्वास संघका सह-सचिव सन्तोष घिमिरेले बताए । करिब ९० लाखको लागतमा शिवम कन्स्ट्रक्सनले उक्त कोर्ट निर्माणको जिम्मा लिएको उनले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएसंगै उक्त प्रतियोगितालाई लक्षित गरी उक्त कोर्ट निर्माणमा आफुहरु जुटेको सहसचिव घिमिरेले बताए ।

उनका अनुसार संघ कास्कीको सक्रियतामा संघमा आवद्ध सदस्यबाट करिब एक करोड ३५ लाखको लागतमा स्क्वास भवन निर्माण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद र नेपाल स्क्वास र्याकेट संघको सहयोगमा करिब ४० लाखको लागतमा हालै पोखरामा एउटा अन्तर्राष्ट्रिय स्तरकै स्क्वास कोर्ट निर्माण गरिएको सहसचिव घिमिरेले जनाए ।

पोखरा रंगशालाको डेढ रोपनी क्षेत्रफलमा निर्माण हुर्दै गरेको उक्त भौतिक संरचना निर्माण भएसंगै पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्क्वास प्रतियोगिता हुने धेरै सम्भावना रहेको उनले जनाए । उक्त भवनमा हाल ३ वटा कोठा, चेन्जिङ रुम, जिम हल सहित कार्यालय, शौचालयसहितको संरचना रहेको सहसचिव घिमिरेले बताए ।

पोखरा रंगशालाको टेनिस कोर्टको छेउ अर्थात रंगशालाको पश्चिमपट्टि उक्त कार्यालय भवन सहितको स्क्वास कोर्ट निर्माण भएको हो । पोखरामा अन्तर्राष्ट्रिय स्तरका तीन वटा स्क्वास कोर्टहरु निर्माण भएसँगै पोखरामा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको स्क्वास प्रतियोगिता आयोजना गर्न सकिने भएको संघ कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए ।

हालै निर्माण भएको स्क्वास कोर्टमा प्रशिक्षण समेत हुन थालेको संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button