राष्ट्रिय ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

कालिका खड्का ।  नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ ।

“नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सीधै जापान आउनु राष्ट्रको गौरवको कुरा हो”, हाल जापानको सेन्डाई शहरमा छ वर्षदेखि बस्दै आएकी कुसुम थामीले भनिन, “पहिला सिङ्गापुर, कतार, अरब जाने विमानमा आएर फेरि अर्को विमान चढेर जापान आउनुपथ्र्यो, सीधै आउँदा समय छोटो र पैसा पनि कम लाग्छ ।” निगमले नियमित उडान गरिदिए नेपाली तथा नेपालमा जाने जापानी पर्यटकका लागि सहज हुने उनको भनाइ थियो । “निगमले सस्तोमा टिकट दिनुपर्छ भन्ने लाग्दैन, टिकटमा केही पैसा बढी भए पनि देश धनी हुन्छ”, उनले थपिन, “ विमान नेपालबाट सीधै जापान आउँदा नेपाल राष्ट्रको पनि शान बढेको महसुस भएको छ ।”

निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंँबाट नारिता उडान भरेको हो । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।
जापानको टोकियोमा एक दशकदेखि बस्दै आएका सुरेश बाँस्टाकोटीले पनि जापानमा सीधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको बताए । “आफ्नो देशको झण्डासहितको विमान जापानमा आउँदा म त खुशीले भक्कानिएँ”, उनले सुनाए, “जापानमा बस्ने नेपाल र पर्यटक सबैका लागि असाध्यै राम्रो शुरुआत हो ।” उनले पनि उडानले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान नेपाल सरकारको सराहनीय काम भएको बताए । “ यो वर्तमान सरकारको धेरै राम्रो कामको शुरुआत हो, यसले राष्ट्रको गौरव बढाउने काम गरेको छ”, उनले भने, “नारिता, टोकियो, चिवालगायत ठाउँमा नेपाली धेरै बस्छन्, उडानले सबैको मद्दत गर्छ, जुन खुशीको कुरा हो ।” उहाँका अनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् ।

निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाडौँ–नारिता उडान गर्न लागेको हो । निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंँ नारिताका लागि २ सय २० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जान २ सय ६८ जनाले टिकट लिएका छन् ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा प्रमोशनल फेयरअन्तर्गत सो भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान शुरु गरेको हो ।

सम्बन्धित न्यूज

Back to top button