गण्डकी प्रदेशका ७ जिल्लामा जग्गा चक्लाबन्दी शुरु

पोखरा न्यूज । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जग्गा चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम प्रदेशका ७ जिल्लामा शुरु भएको छ ।

हाल प्रदेशका ७ जिल्लाका ७ वटा विभिन्न संस्थाहरुसँग मन्त्रालयले सम्झौता गरी सकेको मन्त्रालयका नासु डिल्लीराज सुवेदीले बताएका छन् । उनका अनुसार प्रदेशका मनाङ, बागलुङ, लमजुङ र नलवपुर जिल्लामा भने उक्त योजना अन्तर्गत जग्गा चक्लावन्दीको कुनै योजना छनोट भएको छैन । पहिलो पटक आव्हान गरिएको छनोट प्रकृयामा १८ वटा आवेदनबाट १४ योजना छनोट भएको नासु सुवेदीले बताए । दोश्रो चरणको आवेदनमा १३ वटा आवेदन परेकोमा ६ वटा योजना मात्र छनोट भएको पनि उनले जनाए ।

उक्त कार्यक्रम अन्तर्गत दुई पटक आवेदन आव्हान गरिएकोमा कुल  २० वटा योजना छनौट भएका हुन् । भू-क्षय हुने खालका अति भिरालो जमिन, सिंचाईको कठिनायी हुने स्थल, कृषक विवाद लगायतका कारणले गर्दा ११ वटा योजना छनौटमा पर्न नसकेको मन्त्रालयले जनाएको छ ।  नासु सुवेदीका अनुसार स्याङजा-४ पुतलीबजार को गोठिङ कृषक समुहले ३ सय १ रोपनी क्षेत्रफलमा चक्लाबन्दीको योजना बनाई मन्त्रालयसँग सम्झौता गरेर काम शुरु गरिसकेको छ ।

त्यसैगरी स्याङजाकै वालिङ-९ मा रहेको सप्तरंगि कृषि सहकारी संस्थाले ५१ रोपनी जग्गा चक्लावन्दी गरेको छ भने तनहुँ-२, बन्दिपुरको हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्थाले ६ सय १ रोपनी क्षेत्रफलमा चक्लावन्दी गरी काम सुरु गरेको छ । तनहुँ-८, शुक्लागण्डकीको किमलडाँडा कृषक समुहले १ सय ४ रोपनी क्षेत्रफल चक्लावन्दी गरेको छ भने पर्वत-११ कुश्मामा रहेको भातृभूमि कृषि सहकारी संस्थाबाट १ सय ५ रोपनी क्षेत्रफलमा जग्गा चक्लावन्दी गरि काम शुरु भएको हो । त्यस्तै गोर्खा-४ अजिरकोट गाउँपालिकाको मार्गदर्शन कृषि सहकारी संस्थाले ५१ रोपनी र तनहुँ-१ बन्दीपुरमा रहेको कटहरे पाटो कृषक समुहले १ सय ३ रोपनी क्षेत्रफलमा चक्लावन्दी गरी काम शुरु गरेको छ ।

त्यसै गरी कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ मा अन्नपूर्ण महिला प्राङगारिक सहकारी संस्थाबाटले १ सय २ रोपनी क्षेत्रफलमा मन्त्रालयसंग सम्झौता गरेको तर काम शुरु हुन बाँकी रहेको जनाइएको छ । तनहुँ-२ बन्दीपुरको बोडीस्वारा धानखेत समितिले ५१ रोपनी क्षेत्रफल, स्याङजा-४ पुतलीबजारमा रहेको ठूलिवेशी कृषक समुहबाट ५१ रोपनी क्षेत्रफल, म्याग्दीको मलङगा गाउँपालिका-२ को हिमचुली अर्गानिक कृषि तथा पशु फर्म प्रा.लि.ले ५१ रोपनी क्षेत्रफल, पर्वतको फलेवास नगरपालिका-२ मा रहेको धौलागिरी ह्यामन रिसोर्ट प्रा.लि.ले ५१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी हुने गरी मन्त्रालयसँग सम्झौता भई काम शुरु हुन बाँकी रहेको छ ।

त्यसैगरी कास्की अन्नपूर्ण गाउँपालिका ८ मा रहेको मेश्रम सहकारी संस्थाबाट १ सय २ रोपनी क्षेत्रफलमा, मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिका-३ मा रहेको ग्रिन ताङवे कृषि सहकारी संस्थाले १ सय २ रोपनी क्षेत्रफलमा, कास्कीको रुपा गाउँपालिका-३ मा रहेको राजश्री नमुना कृषि फर्मले ६५ रोपनी क्षेत्रफलमा, रुपा गाउँपालिका-१ मा रहेको विवेशी माझ कृषक समूहले १ सय १ रोपनी क्षेत्रफलमा, गोर्खा सिरानचोक गाउँपालिका-४ मा रहेको महिला सचेतना कृषि तथा पोखरेल एग्रीकल्चरले ५१ रोपनी क्षेत्रफलमा, गोर्खा अजिरकोट गाउँपालिका-५ मा रहेको मार्गदर्शक कृषि सहकारी संस्था लिमिटेडबाट १ सय १ रोपनी क्षेत्रफलमा, गोर्खाको पालुङटार-६ मा रहेको लक्ष्मी बहुउद्धेश्यीय किसान समूहबाट एक सय २० रोपनी क्षेत्रफलमा र तनहुँ भिमाद नगरपालिका-१ मा रहेको ध्रुवतारा कृषक समूहले १ सय १ रोपनी क्षेत्रफलमा चक्लावदी गर्न मन्त्रालयले छनोट गरेसँगै सम्झौता गर्न बाँकी रहेको छ ।

प्रदेश सकारको उत्पादन वृद्धि गरी बाँझो जग्गा राख्ने प्रबृत्तिलाई निरुत्साहित पार्ने उद्धेश्यले आफ्नो नीति तथा कार्यक्रममै जग्गाको चक्लावन्दी कार्यक्रमलाई प्रथामिकतामा राखेको गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले बताए । प्रदेशमा उत्पादन वृद्धि गरी कृषिलाई यान्त्रिकिकरण गर्दै व्यवसायिक तथा सामुहिक कृषि उपजलाई प्रबर्द्धन गर्न प्रदेश सरकारले चक्लावन्दी कार्यक्रममा अनुदानको समेत व्यबस्था गरेको उनले जनाए ।

चक्लाबन्दी प्रबर्द्धन कार्यक्रम कार्यान्वय कार्यविधि २०७५ मा उल्लेख भए अनुसार पहाडी क्षेत्रमा ५० देखि ७५ रोपनी क्षेत्रफल सम्मका जग्गाको लागि बढीमा १० लाख, ७६ देखि १ सय रोपनी क्षेत्रफल सम्मको लागि बढीमा १३ लाख, १ सय १ रोपनी देखि २ सय रोपनी क्षेत्रफल सम्मको लागि बढीमा २० लाख र २ सय १ रोपनी भन्दा माथिको लागि २० लाखमा प्रति रोपनी १० हजारको दरले थप रकम अनुदान दिने प्रावधान रहेको छ ।

त्यसैगरी तराई क्षेत्रमा २० विगाहा देखि ५० विगाहासम्मको क्षेत्रफललाई बढीमा १० लाख, ५१ विगाहा देखि १ सय विगाहासम्मको क्षेत्रफललाई बढीमा १३ लाख, १ सय देखि माथिको क्षेत्रफलको जग्गालाई १३ लाखमा प्रति विगाहा १० हजारका दरले थप रकम अनुदान दिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै हिमाली क्षेत्रमा २० रोपनी देखि ५० रोपनी सम्मको क्षेत्रफललाई बढीमा १० लाखसम्म, ५१ रोपनी देखि १ सय रोपनी सम्म बढीमा २० लाख, १ सय १ रोपनी देखि १ सय ५० रोपनी सम्म क्षेत्रफलको जग्गालाई ३० लाखसम्म, १ सय ५१ रोपनी माथिको क्षेत्रफलको जग्गाको लागि ३० लाखमा प्रति रोपनी १० हजारको दरले थप अनुदान रकम मन्त्रालयले दिने भएको छ ।

पर्वत-११ को कुश्मामा रहेको भातृभूमि कृषि सहकारी संस्थाका अध्यक्ष शिव प्रसाद पौडेलले प्रदेश सकारले ल्याएको चक्लावन्दी कार्यक्रम राम्रो भए पनि स्थानीयमा जग्गा चक्लावन्दी गर्दा कठिनाई हुने गरेको गुनासो गरे । उनले भने “ हामीले हाम्रो क्षेत्रका स्थानीय २६ जनाको जग्गा १ सय ५ रोपनी क्षेत्रफल चक्लावन्दी गर्दा केहीले विरोध गरी चक्लावन्दी गर्न अवरोध गर्दैै खेतमै सुतेर काम गर्न समेत दिएनन्।” हाल उक्त क्षेत्रफलमा आधा जसो जमिन बाझो भएकोले चक्लावन्दी गरे पछि मकै, कोदो, धान र तोरी खेती गर्ने आफुहरुको योजना रहेको अध्यक्ष पौडेलले बताए ।

गोर्खा सिरानचोक गाउँपालिका-४ मा रहेको महिला सचेतना कृषि तथा पोखरेल एग्रीकल्चरका संचालक अम्मर पोखरेलले फलफुल तरकारी खेती गर्ने उद्धेश्यले भिरालो र टुक्रे जमिनलाई चक्लावन्दी गर्न लागिएको जनाए । माछापालन, भैसीपालन सहित अन्य कृषि वाली गर्दै बाख्रापालन गरेका उनले थप ३ सय रोपनी क्षेत्रफल जग्गा चक्लावन्दी गर्ने योजना रहेको समेत जनाए । उनले कृषिबाटै बार्षिक ५ लाख भन्दा बढी मुनाफा आम्दानी गरी ६ जनाको परिवार कृषिबाटै आत्मनिर्भर बनाएका छन् ।

सम्बन्धित न्यूज

Back to top button