कोरोना भाइरसको जोखिममा पोखरा, पर्याप्त पूर्व तयारी नभएको चिकित्सकको भनाई

पोखरा न्यूज । पर्यटकीय नगरी पोखरा कोरोना भाइरसको जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा हवाई उडान र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटकहरुको आगमन हुने भएकोले पोखरा पनि प्राणघातक रोग कोरोना भाइरसको अति जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

हवाई मार्ग तथा सडक मार्ग हुदै दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले व्यपार आयात तथा निर्यात गर्दै आएकोले कोरोना भाइरस नेपाल र पोखरा क्षेत्रमा पनि सर्ने प्रवल सम्भावना रहेकोले उच्च सर्तकता अपनाउनु पर्ने भएको चिकित्सक सरोज पोखरेलले बताए । उनले भने “पोखरा क्षेत्र कोरोना भाइरसको उच्च जोखिममा रहेको छ, भाग्यवश पशुपतिनाथले अहिलेसम्म हामीलाई बचाउनु भएको छ, हामीबाट पर्याप्त मात्रमा तयारी भएको छैन् । ” उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) पोखराका अधिकांश हस्पिटलहरुमा नभएको उनले जनाए । कोरोना भाइरस बिरुद्ध तत्काल उपचार गर्नुपरेको खण्डमा पोखरामा धेरै तयारी गर्नुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

यता क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बन्धु शर्माले भने पोखरा क्षेत्र कोरोना भाइरसको जोखिम युक्त स्थल भएको हुदा त्यसविरुद्ध आफुहरुले तयारी सुरु गरेको बताए । उनका अनुसार पोखराको एक सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका अन्य तीन वटा निजी अस्पिटलमा ६० बेड तयारी अबस्थामा राखिएको छ ।

पोखरामा हवाई मार्ग हुदै आउने पर्यटकहरुको स्वास्थ्य परीक्षण गर्नको लागि पोखरा विमानस्थलमा स्वास्थ्यकर्मीको एक टोली तथा मुस्ताङ विमानस्थलमा पनि कोरोना भाइरस सम्बन्धी सचेतना तथा पर्यटकहरुको निगरानी गरिएको निर्देशक डा. शर्माले बताए । उनका अनुसार हालसम्म पोखरा क्षेत्रमा कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छैन ।

पोखराका विभिन्न अस्पताल, सरकारी निकाय, सरोकारवाला निकायसँग तालिम, छलफल गर्न सुरु गरिएको पनि निर्देशक डा. शर्माले जनाए । प्रतिष्ठानमा ३ बेड, चरक मेमोरियल हस्पिटलमा २७, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५ बेड कोरोना भाइरस सम्बन्धी कुनै शंका लागेका बिरामीहरको उपचार गर्नको लागि पूर्व व्यवस्थापन गरिएको उनले जनाए । हाल आफुहरुसँग पिपिई २४ सेट रहेको र बाँकी ३ सय ५० वटा पिपिई खरिद प्रकृयामा रहेको निर्देशक डा. शर्माले जनाए । प्रति पिपिई सेटलाई ६ सय रुपैयासम्म पर्छ ।

पोखरामा धेरै जनामा सर्न सक्ने जोखिमलाई मध्यनजर गरी आइएनएफ, केही विद्यालय र टेण्ट समेत राखेर उपचार गर्न आफुहरु तयारी अवस्थामा रहेको उनले जनाए । कोरोना भाइरस लागेको शंका लागेमा त्यसको परीक्षण नेपालको जनस्वास्थ्य प्रयोगशालामा हुने हुदा काठमाण्डौं पठाउने तयारी समेत गरिएको निर्देशक डा. शर्माले बताए । छिमेकी मुलुक चीनबाट उक्त संक्रमण फैलिदै ६० बढी देशसम्म पुगेकोले नेपाल र पोखरा समेत यसको जोखिममा हुँदा नेपालीहरु पूर्व सतर्क अबस्थामा बस्नुपर्ने उनको सुझाव छ ।

यस बिषयमा गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले केही दिनमा बस्ने क्याविनेट बैठकले केही निर्णय गर्ने भएको जनाए । तत्काल प्रदेशमा यसको खासै प्रभाव नपरेकोले हुन सक्ने खतरालाई न्यूनिकरण गर्न पनि आफुहरु तयारी अवस्थामा रहने भएको उनले जनाए । प्रदेशको सीमाना भारत र चीनसम्म जोडिएकोले अन्य प्रदेश भन्दा गण्डकी प्रदेश बढी सजग र सचेत हुनुपर्ने प्रवक्ता बस्नेतले जनाए ।

प्राविधिक रुपमा कोरोना भाइरसबाट बच्नको लागि र सर्न नदिनको लागि योजनावद्ध ढंगबाट प्रदेश सरकारले काम गर्न गृहकार्य सुरु गर्ने उनले जनाए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा कोरोना भाइरस विरुद्ध के कसरी अघि बढ्ने यस बिषयमा केही दिन पछि योजना बनाएर अघि बढ्ने योजना रहेको बताए ।

चीनको वुहान शहरबाट शुरु भएको नोवेल कोरोना भाइरसको नेपाल पनि उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालसम्म कोरोना भाइरस ६० बढी देशमा फैलिसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button