अस्पतालमा भर्ना हुनु अघि प्रधानमन्त्री ओलीले भने : चाँडै स्वस्थ भएर काममा फर्कन्छु

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको लागि आज अस्पताल भर्ना हुनु अघि चाँडै नै आफू स्वस्थ भएर काममा फर्कने बताएका छन्।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि सोमबार भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउने समेत बताए।

उनले भने, ’मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ’झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ।

अब आगामी फागुन २१ गते बुधबार फेरि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदैछु।’ उनले आफू यो प्रत्यारोपण सफल भएपछि फर्किएर आउने बताए। ’मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु,’ उनले भनेका छन्।

यो सन्देशसँगै प्रधानमन्त्री ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। प्रत्यारोपणका लागि अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ। चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।

सम्बन्धित न्यूज

Back to top button