डाँडाको १० हजार घनमिटर माटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नै किन्ने

पोखरा न्यूज ।  निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टीको डाँडोले  उडान/अवतरणमा समस्या पार्ने भएपछि २५ मिटर डाँडो काटिदै छ । सो डाँडो काटेर निस्किएको दश हजार घनमिटर माटो निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा लगिने भएको छ ।

पोखरा १७ बानियाँ पाछामा रहेको(रिठ्ठेपानी) डाँडो स्थानीयकै अग्रसरतामा काटिदै छ । वातावरणीय प्रभाव मुल्यांकन लगायत डाँडो कटानका लागि आवश्यक बेसमेन तयार पारेर निर्माणाधिन पोखरा क्षेत्रीय विमानस्थललाई १० हजार घनमिटर माटो बेच्ने तयारी भएको स्थानीय गोविन्दराज तिमिल्सिनाले जानकारी दिए । जम्माजम्मी ३ सय ८१ रोपनी क्षेत्रफलमा फैलिएको डाँडो २२ जना व्यक्ति र मानव सेवा आश्रमको नाममा रहेको छ । १ सय ३८ रोपनी जग्गा व्यक्ति र मानव सेवा आश्रमको स्वामित्वमा रहेको डाँडो बाँकी सरकारी स्वामित्वमा छ ।

स्थानीय आफैं अग्रसर भएर लागेको डाँडो कटानको लागि बेसमेन तयार पार्ने काम गएको असारदेखि नै सुरु गरिएको थियो । डाँडो कटानको लागि सबै तयारीहरु पुरा भई सके पनि माटो राख्ने ठाउँ नपाएपछि काम रोकिएको थियो ।  डाँडो कटान गर्दा माथिबाट माटो/ढुंगा तल नझर्ने गरि व्यवस्था मिलाएर कटान गर्ने व्यवस्था मिलाएको स्थानीय तिमिल्सिनाले जानकारी दिए । डाँडो कटानको लागि आवश्वक मापदण्डमा पुरा गरेर डाँडो कटान गरिने उनले बताए ।

डाँडो कटानबाट निस्केको माटो निर्माणधिन विमानस्थलमा ३, ४ लाख घनमिटर लैजाने भनिएकोमा पहिलो .चरणमा १० हजार घन मिटर मात्रै लगिने सहमति भएको उनले सुनाए । ल्यावमा माटो चेक गर्दा एउटा रातो माटो अर्को ग्राभेल माटो पाइएको उनले बताए । वर्षायाममा डाँडो कटान गर्न गाह्रो पर्ने भएकाले छिट्टै काम शुरु गर्न आफूहरुले तयारी शुरु गरेको उनले सुनाए ।

एअरपोर्ट उडान गर्न मिल्ने गरि डाँडो काट्दा १० लाख ७० हजार घनमिटर माटो निस्किने छ । महानगर लगायत कर तिर्नुपर्ने ठाउँमा माटो बेचेरै आएको रकमबाट तिर्ने गरि डाँडो कटानको काम स्थानीयले लिएका हुन् ।

निर्माण कार्य लक्ष भन्दा अघि नै सकेर उडान भर्ने योजना सहित काम थालेको विमानस्थल आयोजनामा, जग्गा अधिग्रहण लगायतका काममा विवाद हुँदै आएको छ ।

करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र निर्माण सम्पन्न गर्ने गरि   निर्माणको जिम्मा लिएको चाइनिज कम्पनी सिएएमसीले विमानस्थलको  निर्माण कार्य हालसम्म करिब ५० प्रतिशत सम्पन्न भएको  जनाएको छ  ।

चीनबाट  उत्पन्न भई विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना भाइरसले विमानस्थल निर्माण कार्यमा समेत प्रभाव पारेको छ ।

सम्बन्धित न्यूज

Back to top button