कोरोना सतर्कता: पोखरामा मेला/महोत्सव तथा खेल गतिविधि नगर्न प्रशासनको आग्रह

पोखरा । कोरोना भाइरसको सम्भावित  जोखिमलाई न्यूनीकरण गर्न  पोखरा सहित कास्की क्षेत्रमा कुनै पनि मेला/महोत्सव , खेल गतिविधि तथा मानिसहरु जमघट हुने प्रकारका  कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिममा पोखरा लगायत कास्की  समेत पर्न सक्ने  भएकाले पूर्वसावधानि अपनाउन यस्ता  गतिविधि नगर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा न्यूजलाई बताए ।

‘छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाइरस हाल विश्वका ६० भन्दा बढी देशमा फैलिएको र उक्त भाइरसको सम्भावित खतरालाइ मध्यनजर गर्दै यस क्षेत्रमा भीडभाड हुने खालका कुनैपनि  गतिविधि नगर्न आग्रह गर्दछौ,’- प्रजिअ केसीले भने ।

प्रशासनको आग्रहलाई कसैले अवज्ञा गरेको खण्डमा प्रशासनिक रुपमा कुनै पनि सहयोग नहुने  प्रजिअ केसीले चेतावनीसमेत दिएका छन्  ।

प्रजिअ केसीले ‘कोरोना भाइरस यस क्षेत्रमा भित्रिन नदिन र  शंकास्पद व्यक्तिहरु भेटिएको खण्डमा के कसरी उनीहरुलाई उपचार गर्ने भन्ने  विषयमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र क्षेत्रिय स्वास्थ्य निर्देशनालयसँग छलफल गर्न लागेको समेत बताए।

पोखरा क्षेत्रमा हुन सक्ने  कोरोना भाइरस संक्रमणको  उच्च जोखिमलाइ मध्यनजर गर्दै  यस क्षेत्रमा  भाइरसको  रोकथामको लागि तथा संक्रमित भेटिएको अबस्थामा सावधानि पूर्वक उपचार गर्नको लागि पोखराका ४ वटा अस्पतालमा ६० बेडको प्रवन्ध गरिएको क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बन्धु शर्माले  पोखरा न्यूजलाई बताए ।

सम्बन्धित न्यूज

Back to top button