पोखरामा कोरोना त्रास र कालोबजारी : मास्कको अभाव भन्दै १० गुणासम्म मूल्यवृद्धि

पोखरा न्यूज । कोरोना भाइरसबाट विश्वभर ९३ हजार ६२ जना  संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोना भाइरस  संक्रमित  ३ हजार १ सय ९८ जनाको मृत्यु भैसकेको छ । चीनको वुहान प्रान्तमा फेला परेको नोबेल कोरोना भाइरसको संक्रमण विश्वका ७६   देशमा फैलिएपछी नेपालमा समेत त्यसको त्रास बढेको  छ  ।  नेपालमा पनि भाइरसको  संक्रमण फैलिने त्रास बढेसँगै नेपाली  बजारमा मास्कको  अभाव हुन थालेको छ ।

सर्वसाधारण जनताहरुले  भाइरसको संक्रमणबाट जोगिन भन्दै मास्कको प्रयोग गर्न थालेपछि मास्कको अभाव देखाउदै  कालोबजारी  शुरु भएको छ । संक्रमणबाट जोगिनको लागि  उपयुक्त  मानिने  मास्क ( एन नाइन्टि फाइभ) नेपाली बजारमा पाइन छाडेको छ । कालोबजारी गर्नेले उक्त मास्क ६ देखि ७ सय मूल्य सम्ममा  बेच्ने गरेको गुनासो आउन थालेको छ । मुख्यतया गुणस्तरिय मेडिकल मास्क चीनमा उत्पादनमा उत्पादन भएर नेपालमा आयात हुने गरेकोमा चीनबाटै कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालको अधिकांश बजारमा मास्कको अभाव देखिएको हो ।

पोखराको बजारमा सामान्य मेडिकल मास्कको  पनि अभाव रहेको भन्दै  कालोबजारी हुन् थालेको छ । बजारमा मास्कको अभाव भएर माग बढेको बेलाको केही व्यपारीहरुले मौका छोपी कालोबजारीमा उत्रेका छन् । अरु समयमा ५ देखि १० रुपैयाँमा पाइने मास्कलाई केही व्यापारीहरुले ४५/५० रुपैयाँसम्म लिएको सर्वसाधारणले  पोखरा न्यूजसँग गुनासो गरेका छन् ।

पोखराको मेडिकल लाइन भनेर चिनिने महेन्द्रपुल क्षेत्रमा केही समय उभिएर हेर्दा  युवा देखि बृद्धसम्मले मेडिकल मास्क छ भनेर खोज्दै हिँडेको पाइयो । धेरैले मास्कमा कालोबजारी भएको भन्दै गुनासो समेत गरे  । सोहि क्षेत्रमा मास्क खरिद गरेका  सुभास चन्द्र झा र बरुण दत्तले एउटा माक्सको  ४५  रुपैया तिरेको बताए ।

यति धेरै महङगो किन पर्यो भन्ने प्रश्नमा उनीहरुको उत्तर थियो सरकारले देशमा केही गर्दैन, बाहिरबाट आउने मेडिकल मास्कको  माग बढेपछि मूल्य बढाइयो  । कोरोना भाइरसको कारणले गर्दा विश्वमा यसको असर पर्दै गएकोले उक्त भाइरसबाट बच्न  आफुहरुले पूर्व सतर्कताको लागि मेडिकल मास्क प्रयोग गरेको उनीहरुको भनाई थियो । पोखरा रानिपौवाकी अनिता श्रेष्ठले बुधबार पोखराका अधिकांश मेडिकल पसलमा मेडिकल मास्कको खोजि गर्दा भेटाउन नसकेको गुनासो गरिन्। कोरोना भाइरसको केही हदसम्म सुरक्षा हुने विश्वासका साथ उक्त मास्क बजारमा खोज्दा नपाएको उनको गुनासो थियो ।

पोखरामा विगत तीन हप्ता अघि देखि मेडिकल मास्कको अभाव हुन थालेको परोपकार मेडिकल हलका संचालक दण्डपाणी शर्माले बताए । सामान्यतया १० रुपैयामा बिक्रि हुने गरेको मेडिकल मास्क हाल बजारमा ३ सय देखि ४ सय प्रतिशतले मूल्यवृद्धि हुँदै ३०/४० रुपैयासम्ममा बिक्रि गर्नुपरेको  उनले बताए । अहिले मास्कको खरिद मूल्य बढी परेको बताउदै उनले  महङगै मुल्य पर्ने भए छुट्टै कुरा अन्यथा ५/१० को माक्सलाई अस्वाभाविक रुपमा  मुल्य बढाउनु उचित नभएको समेत बताए  ।

पोखरा महेन्द्रपुलमा रहेको विबा फर्माकी ज्योति क्षत्रीले एक सय २० देखि एक सय ८० रुपैयासम्म मुल्य पर्ने ५० पिसको मास्कलाई हाल आयातकर्ताले ५ सय देखि ७ सय रुपैयासम्म भन्ने गरेको गुनासो गरिन्। उनले भनिन् “कोरोना भाइरसका कारण एक त बजारमा मेडिकल मास्क अभाव भएको छ, केही व्यवसायीहरुले कृत्रिम अभाव सृजना पनि गरेका हुन सक्छन, १० रुपैया पर्ने मास्क अहिले हाम्रै १६ रुपैया पर्ने भए पनि हामीले कसरी बिक्रि गर्ने, अत्यधिक महङगो भएकोले मास्क बेच्न हाल राखेकी छैन । ” विगत १५ दिन अघि देखि आफ्नो मेडिकल पसलमा मास्क बिक्रि भईसकेपनि हाल दैनिक एक सय भन्दा बढी मानिसहरुले आफ्नो पसलमा माक्स खोज्न आउने गरेको उनले बताइन्।

एक सय २०  रुपैया  पर्ने ५० पिसको मास्कको बक्सलाई हाल १२ सयदेखि १५ सय रुपैया सम्ममा बिक्रि हुने गरेको सोहि क्षेत्रका एक मेडिकलका कर्मचारीले पोखरा न्युजलाई बताए । उनले नाम नबताउने शर्तमा भने- ‘अहिले मास्क भए  जति मुल्यमा पनि बिक्रि हुन्छ, किन्नेले पनि महँगोमा किन्छ , बेच्नेले पनि महंगोमा बेच्छ ।’

मेडिकल मास्कको कच्चा पदार्थ नेपाल भित्राउदा १५ प्रतिशत कर लाग्ने र तयारी मास्क भित्राउदा भने १० प्रतिशत कर लाग्ने हुदा स्वदेशका मास्क उद्योग धरासायी हुदा हाल बजारमा मास्क अभाव भएको नेपालका एक मास्क आयातकर्ता प्रकाश खनालले बताए । न्यू प्रवेश ट्रेड लिङका संचालक समेत रहेका खनालले केही बर्ष अघि चीनबाट बार्षिक ५० लाख वटा मास्क बिक्रि गरेकोमा यस बर्ष कोरोना भाइरसका कारण एक महिना अघि देखि मास्क बिक्रि वितरण गर्न नपाएको बताए । बजारमा हाल मेडिकल मास्कको मुल्य  बृद्धि हुनु अस्वभाविक भएको उनले जनाए । केही बिचौलीयाका कारणले गर्दा पनि बजारमा मास्कमा मुल्य बृद्धि भएको हुन सक्ने खनालले बताए ।

पोखरा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बन्धु शर्माले मेडिकल माक्स सम्भव भएसम्म प्रयोग गर्न आग्रह गर्दै अन्यथा कुनै वस्तु छुदा र कुनै खानेकुरा खानु भन्दा अघि राम्रोसंग सावुन पानीले हात धुन आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Back to top button