कोरोना सतर्कता : पोखरामा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला १ घण्टामै सकियो

पोखरा न्यूज । पोखरामा बुधबार दिनभरका लागि तय गरिएको १० औं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको कार्यक्रम कोरोना भाइरस संक्रमण  फैलिन सक्ने भनि प्रसाशनले गरेको आग्रहका  कारण १ घण्टामै सकिएको छ ।

जिल्ला प्रसाशन कार्यालय कास्कीले  कोरोना भाइरस सर्न सक्ने जोखिमलाई मध्यनगर गरी धेरै मानिसहरु जमघट हुने प्रकारका कार्यक्रम नगर्न आग्रह गरेअनुसार आफुहरुले दिनभरको लागि भनेर  पूर्व तयारी गरेको  कार्यक्रम छोट्याएर  एक घण्टामै सकाएको  कार्यक्रम संयोजक हरि शर्मा गैरेले बताए ।

पोखराको बाराहीघाटको खेल मैदानमा बुधबार दिनभरलाई हुने गरी तयारी गरिएको  कार्यक्रमका लागि  विभिन्न देशका कलाकार सहितको टोली पोखरा आइसकेकोले गर्दा आफुहरुले ठाउँ  परिवर्तन गरी हल्लनचोकबाट र्यालीसहितको कार्यक्रम शुरु गरेर अम्वोटमा पुगेर समापन गरेको उनले जनाए । नेपालसहित ११ देशका कलाकारहरुले आफ्नो देशको कला संस्कृति झल्कने साँस्कृतीक कार्यक्रम समेत प्रदर्शन गरेको संयोजक गैरेले बताए । पोखराको हल्लनचोकबाट बिहान करिब ११ बजे र्याली शुरु भएको थियो ।

कार्यक्रममा नेपाल सहित भारत, बंगलादेश, डेनमार्क, इजिप्ट, इजरायल, मलेसिया, मेक्सिको, श्रीलंका, बुल्गेरीया र इस्टोनियाका कलाकार सहितको साँस्कृतिक टोली सहभागि भएको उनले जनाए । प्रत्येक दुई-दुई बर्षमा हुने कार्यक्रम यसपटक नेपालमा भएको हो । नेपालमा एभरेष्ट नेपाल सांस्कृतिक समुह, काठमाडौंको निमन्त्रणमा आएको टोलीलाई भने नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेश कमिटिले संयोजन गरि पोखरा भित्राएको प्रदेशका निवर्तमान सहसंयोजक अग्नी कंडेलले बताए ।

उक्त कार्यक्रमको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए । कोरोना भाइरस लागेर पर्यटकको खडेरी लागेको अबस्थामा ११ देशका २ सय ७० बढी पर्यटक पोखरामा आउनु पोखरेलीहरुको लागि खुसिको कुरा भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईले बताए ।

कोरोना भाइरसको कारण लेकसाइड क्षेत्र शुन्य जस्तै भएको अवस्थामा यस्ता कार्यक्रमले पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने पोखराका पर्यटन व्यवसायी सुर्य बहादुर भुजेलले बताए । आगन्तुक विदेशी पर्यटकहरुको विभिन्न ठाउँमा राम्रोसंग  स्वास्थ्य परिक्षण भएको उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Back to top button