पोखरामा सडक मार्ग हुँदै कोरोना भित्रिने त्रास, हेल्थ डेक्स कहिले?

पोखरा न्यूज । पर्यटकीय नगरी पोखरामा सडक मार्ग हुदै भित्रिने विदेशी पर्यटकहरुको लागि हालसम्म स्वास्थ्य परीक्षणका लागि कुनै हेल्थ डेक्स स्थापना गरिएको छैन ।

हवाई मार्ग हुँदै पोखरा भित्रिने विदेशी पर्यटकहरुको लागि पोखरा विमानस्थलमा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण गरिदै आएको छ । तर पोखरामा पर्यटक भित्रीने मुख्य माध्यम रहेको सडक मार्गमा भने कोरोना भाइरस सर्ने उच्च जोखिम रहेको चिकित्सकले भनि रहदा पनि विदेशी पर्यटकहरुको स्वास्थ्य परीक्षण गरिने कुनै हेल्थ डेक्स स्थापना गरिएको छैन ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले शुक्रबार पोखरामा आयोेजना गरेको कोरोना भाइरस संक्रमण र पूर्व तयारी विषयक अन्तर्किया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद वन्दु शर्माले प्रदेशमा हवाई मार्ग हुदै पोखरा र जोमसोममा आउने पर्यटकहरुको स्वास्थ्य परीक्षण गरिन थाले पनि सडक मार्ग हुँदै पोखरा र प्रदेश भित्रिने पर्यटकहरुको लागि हेल्थ डेक्स स्थापना गर्न नसकिएको बताएका हुन् ।

उनले भने “ तत्काल हामी कोरोना भाइरसबाट त्रसित भइहाल्ने अवस्था छैन तर हामी सचेत र सजग भने हुनु आवश्यक छ । ” एक देखि ९ वर्ष उमेर समुहका कुनै पनि व्यक्तिको कोरोना भाइरसको संक्रमणले मृत्यु नभएको, १५ बर्ष माथिका ०.९ प्रतिशत र अधिकांश बृद्धबृद्धाहरु भएको पनि निर्देशक डा. शर्माले बताए ।

चाइना, भारत, कोरिया, जापान, इटाली लगायतका देशबाट नेपाल भित्रिने विदेशीहरुको बढी ख्याल गर्नुपर्ने उनले बताए । विदेशबाट नेपाल भित्रिने पर्यटकहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकोले पूर्व सावधानी अति आवश्यक भएको निर्देशक डा. शर्माले जनाए । २ देखि ३ प्रतिशत मात्र कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु हुने गरेको जानकारी गराउदै उनले नियमित सरसफाई र हरेक क्रियाकलाप गर्दा सावुन पानीले २० देखि ३० सेकेण्डसम्म मिचिमिचि हात धुन सुझाव दिएका छन् ।

मानिसको सवै भन्दा बढी फोहोरी अंगको रुपमा हात हुने हुंँदा संक्रमण नफैलिनको लागि सकभर हात नमिलाउन आग्रह गर्दै निर्देशक डा. शर्माले नमस्ते अभियान गर्न सुझाव दिए । पोखरामा हाल कोरोना भाइरसको पूर्व तयारी र सचेतनाको काम तीव्र रुपमा भइरहेको उनले जनाए ।

आम संचारकर्मीहरुलाई हाल कोरोना भाइरसको बारेमा पोखरा र प्रदेशमा के भइरहेको छ, यसको सचेतना कति आवश्यक छ लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोरोना भाइरस संक्रमण नियन्त्रण र सचेतनाको लागि पत्रकार महासंघ सधै सहकार्य गर्न तयार रहेको उनले जनाए ।

पर्यटकीय राजधानी पोखरा सहित गण्डकी प्रदेशमा कोरोना भाइरस सर्ने उच्च जोखिममा भएसंगै यस क्षेत्रमा आवश्यक तयारी स्वरुप ६० शैया आइसोलेसन सेन्टरको रुपमा तयारी अवस्थामा राखिएको उनले जनाए । पोखराको एक सामुदायिक सहित ४ वटा अस्पतालमा ६० शैयाको प्रबन्ध गरिएको निर्देशक डा.शर्माले बताए ।

सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ बेड, चरक मेमोरियल हस्पिटलमा २७, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५ बेड गरि कुल ६० बेड कोरोना भाइरस सम्बन्धि कुनै संका लागेका बिरामीहरुको उपचार गर्नको लागि आइसोलेसन सेन्टरको रुपमा पूर्व व्यवस्थापन गरिएको उनले जनाए ।

उनका अनुसार आएनएफले आवश्यक परेको खण्डमा तत्काल ५० वेडको आइसोलेसन सेन्टर स्थापना गर्ने वचन दिएको निर्देशक डा.शर्माले बताए । कोरोना भाइरसका शंकास्पद व्यत्तिहरुलाई प्रत्यक्ष चिकित्सकको निगरानीमा उपचार गर्न क्वारेन्टाइन सेन्टरको लागि ठाउँको खोजी भएको पनि उनले बताए । हाल आफुहरुसंँग पिपिई २४ सेट रहेको र बाँकी ३ सय ५० वटा पिपिई खरिद प्रकृयामा रहेको निर्देशक डा. शर्माले जनाए । प्रति पिपिई सेटलाई ६ सय रुपैयासम्म पर्छ ।

सम्बन्धित न्यूज

Back to top button