एपिएफलाई पराजित गर्दै झापा-११ आहा रारा गोल्ड कपको क्वाटरफाइनलमा

पोखरा न्यूज । विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा-११ ले १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश  गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा झापा-११ ले एपिएफलाई टाइब्रेकरमा ५-३ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको होे ।

निर्धारित ९० मिनेट गोल रहित बराबरीमा खेल टुंगियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले १/१ गोल गरेपछी खेल टाइब्रेकरमा धकेलियो । एपीएफका सुदीप सिखांकरको पेनाल्टी सुटआउटमा झापाका गोल रक्षक राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरिदिए । झापाका हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सञ्जीत राईले पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए भने एपिएफका नवीन लामा, राजीव लोप्चन र गोलरक्षक राजु नगरकोटीले पेनाल्टी सुटआउटमा गोल गरे ।

खेलको १ सय ११ औं मिनेटमा झापा-११ का सुनिस खड्काले उत्कृष्ट गोल गरेर अग्रता दिलाएका थिए । अबिशेक गुरुङको पासमा खड्काले बललाई पोष्टमा दिशा देखाए ।अतिरिक्त समयको अन्त्यमा एपिएफले गोल गरी खेल बराबरीमा पुर्यायो ।

एपीएफका अकास बुढामगरले क्रस वारमा लागेर रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै गोल गरे। झापा-११ का गोलरक्षक राजकुमार लिम्बु म्यान अफ दी म्याच घोषित भए ।  उनलाई राखेप सदस्य राजेश कुमार गुरुङले ५ हजार रुपैया हौसला स्वरुप प्रदान गरेका छन्।

एपिएफलाई खेलको ८ औं मिनेटमा नै ठुलो झड्का लागेको थियो । विकु तामाङलाई बिहाल दर्जीले डि वक्स भित्र लाडाए पछि पाएको पेनाल्टीको अवसरलाई नविन लामाले सदुपयोग गर्नबाट चुके । हारसंगै गत बर्ष सेमिफाइनलसम्म पुगेको  एपिएफयस बर्ष प्रि क्वाटरफाइनलबाटै यात्रा टुंगाउनु पर्यो ।

एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले लिगमा ९ गोल गरेका आसिस लामा नहुनु र विपक्षि टिमलाई हल्का रुपमा लिएर खेल्दा हार व्यहोर्नुपरेको बताए । झापा-११ का प्रशिक्षक सन्तोस गुरुङले आफुहरु सी डिभिजनको भए पनि ए डिभिजनको क्लब एपिएफलाई जित्नु ठुलो उपलब्धी भएको बताए । उनले आफ्नो रणनिती अनुसार खेलाडीहरुले खेल्दा जित हात परेको बताए । झापा-११ ले नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लबसँग यही फागुन २५ गते क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यसैबिच भोलि शनिबार पहिलो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लबसंग आयोजक सहारा क्लब बिच हुनेछ । सहाराले उद्घाटन खेलमा ब्रिगेड व्वाइज क्लवलाई पराजित गर्दै क्वाटरफाइनमा यात्रा बनाउदा पुलिसले बाइ पाएर क्वाटरको यात्रा तय गरेको हो ।

सम्बन्धित न्यूज

Back to top button