कास्कीमा राजनीतिक दलहरुको भेला, गोष्ठी र सम्मेलन स्थगित गर्न आग्रह

पोखरा न्यूज । कोरोना भाइरसको जोखिमबाट बच्न कास्कीका क्रियाशिल राजनीतिक दलहरुले भेला, गोष्ठी, सम्मेलनहरु केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन् । पोखरामा शनिबार नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण वहादुर के.सी.को अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले अहिलेको अवस्थामा धेरै भीडभाडजन्य गतिविधि नगर्न, दलहरु, संघसंस्थाका भेला, गोष्ठी, सम्मेलनहरु केही समयका लागि स्थगित गर्न र विद्यार्थीको परीक्षाका विषयमा उपयुक्त समय मिलाएर व्यवस्था गर्न सम्वन्धित निकायलाई आग्रह गरिएको सभापति केसीले बताए ।

वैठकले यतिवेला नोवेल कोरोना भाईरस (कोविड १९ ) बाट जनतामा त्रास फैलिएको र यसैका नाउँमा अनियन्त्रित मूल्यवृद्धि गर्न, दैनिक उपभोग्य सामानहरुको अभाव सृजना गर्न बिचौलियाहरु सक्रिय भएको अवस्थाप्रति कास्कीका राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले गराएको सचेतना, नेपाल सरकारको आग्रह र जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टीगत गरी कास्कीमा क्रियाशिल राजनीतिक दलहरुको बैठकले कोरोना भाईरसवाट पटक्कै आतंकित नहुन, यसवाट जोगिन अपनाउनुपर्ने सतर्कतालाई ध्यान दिन सबैमा आग्रह समेत गरेको छ ।

संक्रमणको रोकथामका लागि कास्कीमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्रिय गराई यसको नियन्त्रण, रोकथाम र जनचेतनाका लागि संघ, प्रदेश र स्थानीय तह ३ वटै तहका सरकारप्रति गम्भीर ध्यानाकर्षण समेत बैठकले गराएको छ । त्यस्तै जोखिमसँग सतर्कता अपनाउन एक आपसमा हात नमिलाउन आग्रह गरिएको छ ।

बैठकले जारी गरेको प्रेस विज्ञप्तिमा काँग्रेस सभापति केसी सहित, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा, राप्रपा कास्कीका कार्यवहाक सभापति गणेश ढकाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरी प्रसाद गुरुङद्धारा हस्ताक्षर गरेको छन् ।

यसअघि कास्की प्रशासनले विभिन्न मेला-महोत्सव तथा धेरै मानिसहरु भिडभाड हुने प्रकृतिका कुनै पनि कार्यक्रम हाललाई स्थगित गर्न आग्रह गरेको थियो ।

सम्बन्धित न्यूज

Back to top button