संकटालाई पराजित गर्दै आर्मी आहा राराको सेमिफाइनलमा

पोखरा न्यूज । ए डिभिजन लिगको उपविजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले संकटा क्लबलाई ३-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आर्मीको जितमा सुदील राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक/एक गोलको योगदान दिए । खेलको १५ औं मिनेटमा सुदील राईले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । राईले नवयुग श्रेष्ठको क्रस बललाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन्। खेलको ७१ औं मिनेटमा नवयुगले गोल गरी टिमलाई जित सुनिश्चित गरे । सन्तोस तामाङको कर्नर बललाई ढुलमुल अवस्थामा राष्ट्रिय खेलाडी नवयुगले गोल गर्न सफल भए ।

खेलको ७५ औं मिनेटमा विवेक बस्नेतले एक गोल गरी गोल अन्तर फराकिलो बनाए । बस्नेतले डि-वक्स भित्रबाट फष्टवार च्याप्दै प्रहार गरेको बल संकटाका गोलरक्षक राजा बाबु थापाको हातबाट फुत्केर  गोल भयो । सुदीलको स्थानमा दोस्रो हाफ पछि मैदान छिरेका विवेक बस्नेतले गोल गरेका हुन्। खेलमा म्यान अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।

पहिलो हाफको शुरुवातमै गोल खाएर पनि आर्मीलाई आफ्नो दबाबमा पार्न सफल भएको संकटाले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा १८ औं आहा राराको क्वाटरफाइनलबाटै यात्रा टुंगाउनु पर्यो । संकटाले दुई विदेशी खेलाडी मैदानमा उतारे पनि आर्मी विरुद्धको खेलमा गोल गर्न भने चुक्यो । विदेशी खेलाडी मिस्योकीको केही प्रहार खेर गएका थिए ।

आर्मीले पनि थप केही अवसर सदुपयोग हुन नसक्दा अझ विशाल गोल अन्तर बनाउन सकेन । आहा राराको साविक उपविजेता आर्मी आहा रारामा हालसम्म १४ पटक सहभागि भई ४ पटक फाइनलमा पुगेर पनि उपाधि चुम्न चुकेको छ । संकटाको ५ औं सहभागिता हो । संकटाले आहा रारामा क्वाटरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । संकटाका प्रशिक्षक सल्यान खड्कीले आफुहरुले पाएका अवसर सदुपयोग हुन नसक्दा आर्मीसंग पराजित हुनु परेको बताए ।

पहिलो हाफमा पाएका अवसरमा गोलमा परिणन नहुनु नै आफुहरुलाई आर्मीं विरुद्ध गोल गर्न कठिन भएको उनले जनाए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले  टिम सेट हुन समय लागेकाले पहिलो हाफमा गोल भए पनि उत्कृष्ट प्रर्दशन हुन नसकेको बताए ।

समुह ‘बी’मा रहेको आर्मीले सिधैँ क्वाटरफाइनल खेलेको हो । आर्मीले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग दोस्रो सेमिफाइनल खेल्ने भएको छ । यसअघि मनाङले झापा–११ लाई हराउँदै अन्तिम चारमा यात्रा तय गरेको छ ।

यसैबिच बुधबार पहिलो सेमिफाइनल खेलमा  साबिक विजेता रुस्लान थ्री स्टार क्लब विरुद्ध नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । समुह एमा रहेको थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै सेमिफाइनलमा यात्रा तय गरेका हुन्।

सम्बन्धित न्यूज

Back to top button