पोखरामा हट एयर बेलुनमा उडान भर्नेको संख्या बढ्दो

पोखरा । पोखरामा सहासिक खेल हट एयर बेलुनमा उडान भर्नेको संख्या बढ्दो रुपमा रहेको छ । गत वर्ष करिब १ हजार ८ सय जनाले हट एयर बेलुनमा उडान गरे भने यस बर्ष करिब २ हजार बढीले उडान गरेको बेलुन नेपालका संचालक बिक्रम बाडेले बताए ।

गत वर्षको तुलनामा यस बर्ष हट एयर बेलुनमा उडान गर्नेहरुको सङख्यामा वृद्धि हुनुले आफुहरु थप हौसिएको उनले जनाए । चिनिया, भारतीयसहितका धेरै पर्यटक गत वर्ष सहभागी भएकोमा यस वार्ष नेपाली पर्यटकले नै हट एयर बेलुनमा उडान गरेको संचालक बाडेले जनाए । पछिल्लो समयमा बर्थ डे, बैवाहिक जिवनमा प्रवेशको दिनमा समेत आकाशमै केक काटेर मनाउन थालिएको उनले जनाए ।

उनले भने “पोखरा सहासिक खेल गतिविधिको केन्द्र हो, पोखरामा आउने अधिकांश पर्यटकले सहासिक खेल गतिविधिमा रमाउने गर्छन, त्यसलाई मध्यनजर गरी हामीले पोखरामा कान्छो सहासिक खेल गतिविधि अन्तर्गत  हट एयर बेलुन शुरु गरेका हौं । ” हरेक दिन बिहान र बेलुका पोखराको फेवातालको सिरान भाग पामेमा मौसम र पर्यटकको चाप अनुसार दैनिक २/३ वटा उडान हुने संचालक बाडेले जनाए । पोखराको विमानस्थलदेखि करिब ८/९ किलोमिटर टाडाको दुरीमा विहान ६ देखि ७ बजे र बेलुका ४ बजे देखि हट एयर बेलुन उडान हुने उनले बताए ।

भक्तपुरका बाडेले दार्जिलिङ जाँदा हट एयर बेलुन उडेको देखेसंगै आवश्यक अध्यन गरी पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु गरेका थिए । शुरुमा बेलुनलाई भुइँमा बिछ्याएर पङ्खाले बेलुनमा आधा हावा भरिन्छ । त्यसपश्चात एलपिजी ग्यास बालेर बेलुन भरिन्छ जसले तातो हावा भएपछि विस्तारै बेलुनलाई पाइलटले डोरीको सहायताले आकासमा घुमाउने गर्छन्।

एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा बत्तिस बर्ग मिटरको बास्केट जडित (यात्रु कक्ष ) रहेको छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न सक्छन्। फेवातालको सिरान भाग पामेको आकाशमा उड्दा २ हजार मिटरदेखि ४ हजार मिटरसम्म उड्ने बेलुन नेपालका बिष्णुकान्त घिमिरेले जनाए ।

बेलुन आकाशमा उडेसंगै पोखरा, फेवाताल, वन जंगल, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने उनले जनाए । बेलुनमा उडान गर्दा सुर्योदय र सुर्यास्तको अवलोकन समेत गर्न सकिने उनले बताए । बेलुन उडाउने एलेक्स जेण्डर विदेशी पाइलट हुन्।

असार, साउन र भदौ महिना बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान हुने घिमिरेले जनाए । बेलुनमा उडान गर्दा प्रति  व्यक्ति २० हजार डलर बराबरको विमा समेत रहेको संचालक बाडेले जनाए । र्याफ्टीङ, प्याराग्लाइडिङ, जिपलाइन, बन्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ लगायतका सहासिक खेलकुदको केन्द्र पोखरामा विगत दुई बर्षदेखि हट एयर बेलुनले समेत पर्यटकहरुलाई थप आकर्षण गर्न थालेको हो ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार शुल्क निर्धारण गरिएको छ  भने अन्य देशका पर्यटकहरुको लागि १ सय २० डलर निर्धारण गरिएको संचालक बाडेले बताए । रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।  त्यस्तै फोटो भिडियोको पेन ड्राइभ सहित १५  सय अतिरिक्त शुल्क लाग्नेछ ।

कम्पनीले उडानसगै लेकसाइडदेखि पामेसम्मको दुई तर्फी यातायात सुबिधा र प्रमाणपत्र समेत प्रदान गर्नेछ । अध्यक्ष बिक्रम बाडे सँगै हिमालयन इन्भेस्टमेन्ट प्रालिको तर्फबाट दीपक कुमार श्रेष्ठ र सबिन महर्जनको संयुक्त लगानीमा करिब चार करोड पचास लाखको लगानीमा हाल दुई वटा वेलुन सहितको अन्य खेल संरचना रहेको छ ।

सम्बन्धित न्यूज

Back to top button