कोरोना प्रभाव : पोखराको पर्यटन भूकम्पको वेला भन्दापनि नाजुक!

पोखरा । भूकम्पको समय भन्दा पनि यति बेला पोखराको पर्यटन क्षेत्र खस्केको छ । कोरोना भाइरसका कारण पोखराको पर्यटन व्यवसाय  भूकम्पको बेलामा भन्दा झन नाजुक बनेको  पोखराका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन्।

भूकम्पको समयमा पोखरामा करिब १५ प्रतिशत पर्यटकको सङख्या भएकोमा हाल विश्वमा फैलिदै गरेको कोरोना भाइरसका कारण १० देखि १२ प्रतिशत मात्र पर्यटकहरु पोखरा क्षेत्रमा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार आन्तरिक करिब ४, भारतिय करिब २/३, यूरोपियन करिब ६/७ प्रतिशत पर्यटकहरु हाल पोखरा क्षेत्रमा रहेका छन् । पोखरा क्षेत्रमा होटलमा पर्यटकको अकुपेन्सि पनि उस्तै रहेको अध्यक्ष तुलाचनले जनाए ।

पर्यटनको सिजन मानिने फेब्रुअरी, मार्चमा अन्य वर्ष ७० देखि ८० प्रतिशत सम्मको पर्यटक आगमन हुने भएपनि हाल त्यो सङख्या घटेर १२ प्रतिशतको हाराहारीमा पुगेको उनले जनाए । हरेक देशले आफ्ना नागरिकको सुरक्षाको लागि अन अराइभल भिसा रोकेको र  केहीले अन्तर्राष्ट्रिय हवाई उडान समेत स्थगित गरेकोले गर्दा   पोखरा क्षेत्रमा पर्यटन आगमन ह्वात्तै घटेको अध्यक्ष तुलाचनले जनाए ।

कोरोना भाइरसको पूर्व सतर्कता र रोकथामको लागि राज्यले हाल मेला/महोत्सव, सभा, सम्मेलन लगायतका गोष्ठीहरु समेत नगर्न  भनि दिएको निर्देशनका कारणले गर्दा पनि होटलमा हुने गरेको चहल-पहल हाल घट्न गएको उनले जनाए । उनले भने “कोरोना भाइरसबाट पहिला हामी सवै बच्नुपर्यो त्यसपछि हामीले आफ्नो उद्योग धन्दा, पेशा  गर्ने हो, यसमा राज्य पनि नेपालमा कोरोना भाइरस मुक्त बनाउन सजग हुनुपर्छ, आम नेपाली पनि सचेत र सजग हुनु आवश्यक छ ।”

अहिलेको पर्यटनको प्रतिकुल अवस्थामा पर्यटन व्यावसायीहरु पर्ख र हेरको अवस्थामा रहेको उनले जनाए । पर्यटन क्षेत्रमा धेरैले भविष्य  देखेर गरेको लगानी सुरक्षित गर्न पनि केही समय बैंक तथा वित्तीय  संस्थाहरुले विलम्ब शुल्क नलिने, व्याजमा थप सहुलियत लगायका प्याकेज आवश्यक रहेको व्यवसायिहरुले माग गरेका छन्।

पोखरा पर्यटन परिषदका सल्लाहकार एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले कोरोना भाइरसका कारण पर्यटनसंगै, कृषिजन्य, यातायात, उद्योग धन्दा कलकारखाना, शैक्षिक संस्था, विभिन्न व्यापार व्यावसायदेखि मानिसहरुको दैनिक दिन चर्यामा यसले असर पार्न थालेको बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकार र नेपालीहरुले सुझबुझका साथ सतर्कता अपनाउन आग्रह गर्दै सल्लाहकार भट्टराईले अहिलेको अवस्थामा विश्व सामु नेपालमा कोरोना मुक्त भएको सन्देश दिन सकेको खण्डमा केही महिना पछि पोखरा र नेपालकै समग्र पर्यटन व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

भूकम्प र डेंगु संक्रमणले खस्केको पर्यटन क्षेत्रलाई यसपाली चिनबाट फैलिएको कोरोना भाइरसको त्रासले पोखरा क्षेत्रको पर्यटन व्यवसाय समेत प्रभावित हुँदा आर्थिक क्रियाकलाप कम हुन थालेको उनले जनाए । उनले भने “अहिलेको यो विसम परिस्थितीमा राज्य अभिभावक भएको हुँदा न्यूनतम ६ देखि एक बर्षसम्म बैंक तथा वित्तीय  क्षेत्रको ऋणमा विलम्ब शुल्क नलिने तथा केही रहातका कार्यक्रम ल्याउनुपर्छ ।” पर्यटन व्यवसायीसँग  मजदुरहरुको भविष्य  पनि जोडिएकाले यसलाई टिकाई राख्न यो विसम परिस्थितीमा सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

अग्रज  पर्यटन व्यवसायी एबम पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार  गोविन्दराज पहारीले कोरोनाको प्रभावका  कारण  पोखरामा पर्यटक नहुँदा पर्यटन व्यवसायीहरु अत्यन्तै मारमा परेको बताए । पर्यटक नभएर  आर्थिक कारोबार कम  हुँदा  पर्यटन व्यवसायीले बैंकको  किस्ता तिर्न नसकेको , कर्मचारी कटौती गर्न परेको र व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

भूकम्प र नाकाबन्दीमा  नेपाली पर्यटकले माया गरेकोमा अहिले कोरोनाको त्रासका कारण नेपाली पर्यटक समेत नआएको पहारीले बताए  । कोरोनाको संक्रमण पोखरामा र नेपालमै  फैलिन नदिन सरकारले विशेष तयारी गर्नुपर्ने बताउदै उनले पर्यटन क्षेत्रलाइ जोगाइ राख्न  सरकारले पर्यटन व्यवसायीलाई कर छुट, ब्याजदर लगायतमा राहत दिनुपर्ने बताए । कोरोनाको असर देखाएर पर्यटन क्षेत्रलाई चाहिने खाद्य सामग्री र अन्य बस्तु तथा सेवामा कृतिम अभाव र कालोबजारी भएको भन्दै पहारीले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले कोरोना भाइरसको कारण हाल आफुहरुको व्यवसाय निकै मारमा परेको गुनासो गरे । उनले भने “अहिलेको अवस्थामा हाम्रा धेरै व्यवसायीहरुले नियमित रुपमा तिर्दै आएको बैंक तथा वित्तीय संस्थाको किस्ता, व्याज र कर्मचारीलाई तलब भत्ता दिन नसक्ने अवस्थामा पुगेका छन्, राज्यले यसको सुरक्षित अवतरण गर्नुपर्यो । ” कोरोना भाइरसका कारण हाल करिब १० प्रतिशत भन्दा बढी रेष्टुरेण्टमा कारोवार नभएको अध्यक्ष भुजेलले जनाए ।

सम्बन्धित न्यूज

Back to top button