भारतमा एकैदिन ६ सय १ मा कोरोना पुष्टि, २३ को मृत्यु

पोखरा न्यूज । छिमेकी मुलुक भारतमा कोरोनाले बिस्तारै महामारीको  रुप लिन थालेको छ । बुधबार मात्रै भारतमा ६ सय १ जना नयाँ कोभिड-१९ का संक्रमित भेटिएका छन् । बुधबार नै  त्यहाँ संक्रमित रहेका  २३ जनाको मृत्यु भएको छ ।

यस सँगै भारतमा कुल संक्रमितको संख्या २ हजार नजिक पुगेको बताइएको छ । त्यस्तै अहिलेसम्म भारतमा कोभिड-१९ बाट ५८ जनाको मृत्यु भइसकेको छ । भारतको युनियन स्वास्थ्य मन्त्रालयले भने कुल संक्रमितको संख्या १६ सय ३७ मात्रै रहेको बताएको छ ।

भारतमा अचानक कोरोना संक्रमितको संख्या वृद्धि हुनुमा मध्य मार्चमा तबलीगी जमातको ठूलो भेला जिम्मेवार रहेको बताइएको छ, जहाँ हजारौं मुस्लिम समुदायका मानिस भेला भएका थिए । दिल्लीको निजामुद्दिनस्थित मर्काज मस्जिदमा भएको सो सभामा नेपाल, इन्डोनेसिया, मलेसियालगायत देशका सहभागी रहेको बताइएको छ ।

६ हजार भन्दा बढी सहभागी रहेको भनिएको सो भेलाका सहभागीलाई खोजेर परीक्षण गर्न थालिएसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । उक्त भेलामा सहभागी भएका तमिलनाडुका मात्रै १ सय १० जनामा तथा दिल्लीका ५३ जनामा संक्रमण देखिएको छ ।

तमिलनाडुबाट १५ सय भन्दा ज्यादा सो भेलामा सहभागी भएका थिए जसमध्ये ५९ लाई मात्रै आधिकारिक क्वारेन्टिनमा राखिएको छ । त्यस्तै तेलङ्गना राज्यका कुल ५७ संक्रमित मध्ये ५० जना सोही भेलाका सहभागी रहेको पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गए पनि भारतबाट अझै चोर बाटो हुँदै नेपालीहरु नेपाल प्रवेश गरिरहेका छन् । आधिकारिक रुपमा सीमा बन्द गरिए पनि यसरी भित्रिएकाहरुलाई ट्रेसिङ गरेर क्वारेन्टिनमा नराखे  नेपालमा पनि संक्रमण फैलिने  खतरा देखिएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button