पोखरामा पनि कोरोना सङ्क्रमणको परीक्षण शुरु

पोखरा । कोभिड–१९ को सङ्क्रमण परीक्षण गर्ने (पिसीआर) मेसिनले पोखरामा सङ्क्रमण परीक्षण गर्न शुरु गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखेर परीक्षण शुरु गरिएको उक्त मेशिनले सात जनाको स्वाब सङ्कलन गरेको छ । परीक्षणबाट एकको नेगेटिभ आएको र अरुको आउन बाँकी रहेको प्रतिष्ठानका निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।

एक घण्टाभित्र नतिजा आउने भए पनि प्रारम्भिक चरणमा मेशिन नयाँ भएकाले विश्वसनीयताका लागि दोहोर्याएर जाँच (डबल टेष्टेड) गरिएको नतिजालाई पुनः काठमाडौँ पठाएर मात्रै प्रमाणित गरिने उनले जानकारी दिए । सङ्कलन गरिएकामध्ये एकको नतिजा आइसकेको, चार काठमाडौँ पठाइएको, दुईको नमूना पठाउन बाँकी रहेको उनको भनाइ छ ।

हालसम्म प्रदेशभरिमा ५४ नमूना सङ्कलन गरिएको छ । एक पोजेटिभ, ३२ नेगेटिभ रहेका र बाँकीको नतिजा आउन बाँकी रहेको उनले बताए । उनले भने, “यस परीक्षणबाट स्वाब टेस्ट गरिएका व्यक्ति सङ्क्रमित भए/नभएको पुष्टि हुनेछ र होम क्वारेन्टाइन वा आइसोलेसनमा राखिने निक्यौल हुनेछ ।”

डा शर्माका अनुसार गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा रहेका १ सय ३३ सघन उपचार कक्ष र ५४ भेन्टिलेटर रहेका छन् । प्रदेशमा तीन हजार ७ सय ४९ क्वारेन्टाइन श्यया बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइनमा रहेका छन् भने एक हजार ८५ होम क्वारेन्टाइन रहेका छन् । त्यस्तै १ सय ७७ आइसोलेसन श्यया रहेकामा हाल म्याग्दी एक, गोर्खा दुई र बागलुङमा एक जना गरी चार जनालाई आइलोसनमा राखेर उपचार भइरहेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button