बागलुङमा भेन्टिलेटर पुग्यो, आइसीयू सञ्चालनका लागि जनशक्तिको अभाव

तारानाथ आचार्य। प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रोपटक पठाएको भेन्टिलेटर  बिहीबार साँझ धवलागिरि अञ्चल अस्पताल बागलुङमा आइपुगेको छ । अघिल्लो साता पठाइएको भेण्टिलेटर अस्पतालले सामान अपुरो रहेको भन्दै बुझ्न अस्वीकार गरेको थियो ।

पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न नमानेपछि निर्देशनालयले दोस्रोपटक भेण्टिलेटर पठाएको हो । यसअघिको भेण्टिलेटर अस्पतालले अलग्गै राखेको छ । “स्वाशप्रस्वाशमा समस्या आए भेन्टिलेटरले सहयोग गर्छ, जुन हामीले पाएका छौँ”, अस्पतालका डा प्रदीप श्रेष्ठले भने, “आइसीयू नभएकाले मुटु र मिर्गौलामा समस्या आए कसरी समाधान गर्नु ।”

कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पताललाई भेण्टिलेटर आवश्यक थियो । आपतकालीन अवस्थामा बिरामीलाई सघाउन मेसिनले सहयोग गर्ने श्रेष्ठले बताए । अस्पतालमा अहिले कोरोना सङ्क्रमण पुष्टि भएका दुई बिरामीको उपचार भइरहेको छ । यदि उनीहरुमा गम्भीरखालको सङ्केत देखापरे सघन उपचारकक्षको आवश्यकता हुने डा श्रेष्ठले बताए ।

अस्पतालमा सघन उपचारकक्ष (आइसीयू) सञ्चालनका लागि पहल भइरहेको छ । “केन्द्र सरकारले रु एक करोड बजेट पठाएको छ भन्ने सुनेको छु, त्यो प्रदेशबाट यता आएको छैन”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले भने, “हामी हाम्रो क्षमताले भेट्ने पूर्वाधारको तयारीमा लागेका छौँ, सरकारले सहयोग गरे भेण्टिलेटर मात्रै होइन आइसीयू चलाउँछौँ ।” तत्काल आइसीयू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव छ ।

“‘आइसीयू प्रयोगमा ल्याउन तालिमप्राप्त नर्सको आवश्यकता हुन्छ”, डा श्रेष्ठले भने, “हामीसँग त्यो खालको जनशक्ति छैन ।” भेण्टिलेटरले मात्रै थेग्न नसक्ने अवस्था आएमा बिरामी पोखरा पठाउनुको विकल्प नरहेको उनले सुनाए।

आफन्तहरुको ट्रेसिङ थालियो

जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मा शुक्रबार बिहानै छिमेकी गाउँ दपासा पुगे । अरु बेला वडाका काम बोकेर गाउँमा डुल्ने शर्मा अहिले भने कोरोना सङ्क्रमण रोक्ने ध्याउन्नमा छन् । बेज्लियमबाट कतार हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसँग भेटघाट गरेका भीमापोखराको दपासा गाउँमा रहेका आफन्तलाई भेटर वडाध्यक्ष शर्माले सतर्क रहन आग्रह गरेका छन ।

“दपासाका आफन्तहरु सङ्क्रमित महिलाको घरमा एक दिन बास बसेर आउनुभएको रहेछ, अनि हामीले उहाँहरुलाई होम क्वारेन्टाइनमा राखेका छौँ”, उनले भने । गाउँमा रहेका कोही पनि वृद्धवृद्धा र बालबालिका समस्यामा नरहेको भए पनि सजगता अपनाउन क्वारेन्टाइनमा राखिएको शर्माले बताए । जिल्लामा दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि सतर्कता बढेको छ । गौँडाकोटकी सङ्क्रमित महिलाको सम्पर्कमा आएकाको पनि खोजी शुरु भइसकेको छ । उनी विदेशबाट आएको जहाज, नेपाल आइसकेपछि काठमाडौं, पोखरा हुँदै बागलुङ आउँदासँगै आएका सबैको फोन ट्रेसिङ यसअघि नै भइसकेको छ ।

“उहाँहरु घरमा आएपछि को–कोसँग सम्पर्कमा रहनुभयो भन्ने कुराको खोजी भइरहेको छ”, जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, “लकडाउन भएकाले धेरै बाहिर ननिस्केको भेटियो, परिवार र आफन्तको हाम्रा साथीले ट्रेसिङ थाल्नुभएको छ ।” प्रारम्भिक जानकारी अनुसार गत चैत ५ गते यता सङ्क्रमित महिला २१ जनासँग सम्पर्कमा आएको भेटिएको छ । उनीहरु सबैलाई उच्च सतर्कताका साथ होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गुरौले बताए । “तीन जना आफन्त उहाँको घरमा आउनुभएको जानकारी छ” गुरौले भने, “बास बसेर फर्केपछि कहाँ–कहाँ, को–कोसँग पुग्नुभयो भन्ने कुराको खोजी भइरहेको छ ।”

चारको स्वाब सङ्कलन

धवलागिरि अञ्चल अस्पतालले बागलुङ नगरपालिका–३ गौँडाकोटकी कोरोना सङ्क्रमित ६५ वर्षीया महिलाका परिवारको थ्रेट स्वाब सङ्कलन गरेको छ । शुक्रबार अस्पतालको प्राविधिक टोली घरमै पुगेर उनको परिवारका चार जनाको थ्रेट स्वाबको नमूना सङ्कलन गरेको हो । स्वाब शनिबार बिहानै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको अस्पतालका डा प्रदीप श्रेष्ठले बताए । एउटै घरमा बस्ने उनका ससुरा, बुहारी र दुई नातिको स्वाब सङ्कलन भएको छ ।  -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button