विश्वभर कोरोनाबाट ६४ हजारको मृत्यु, १२ लाख बढी संक्रमित

पोखरा न्यूज । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७ सय३२ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६ सय ६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४ सय ४४ जना, फ्रान्समा ७ हजार ५ सय ६० जना, बेलायतमा ४ हजार ३ सय १३ जना नेदरल्यान्ड्समा १ हजार ६ सय ५१ जना र बेल्जियममा १ हजार २ सय ८३ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १ सय ८३ व्यक्तिको मृत्यु भएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button