चैत ४ देखि हालसम्म विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए

पोखरा न्यूज । विश्वव्यापी महामारीको रुपमा  फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिन थालेपछि  यसको सन्त्रास अझ बढ्दो छ । नेपालमा विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा हालसालै नेपालमै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । नेपालमा हवाईमार्ग र सडक मार्ग दुवैबाट  नेपाल आउने व्यक्तिमा कोरोना  कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो भने त्यसपछि चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नेपालमा  नौ जनामा कोभिडको सङ्क्रमण भेटिएको छ, जसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।  हालसालै मात्र  भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीकी ३४ वर्षीय महिला मा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको बताइएको छ ।

यो अवस्थामा  देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण अनुसार चैत ४ देखि चैत २३ गतेसम्म विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उनीहरु छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर  नेपाल आएका हुन् ।  चैत ४ गते कतार एयरवेजबाट १८५, चैत ६ गते एयर अरेबियाबाट १७०, भारतको विस्तारा एयरबाट १३० जना गरी जहाजमार्फत ४५८ जना  नेपाल आएका छन् ।  बाँकी ६० हजार ५ सय भन्दा बढी नेपाली  भारतबाट सडकमार्ग हुँदै  नेपाल आएको बताइएको छ । काठमाडौँमा ११७ जना विदेशबाट फर्किएका नेपाली सेल्फ क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ । उनीहरु दुबई, फ्रान्स, टर्की, साउदी अरब र अष्ट्रेलियाबाट आएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट कोभिडको रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा गरिरहेका कामको आइतबार जानकारी दिंदै  कोभिडको प्रभाव नियन्त्रणका लागि देशभरका स्थानीय तहले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोभिडको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय तहले सक्रियतापूर्वक काम गरिरहेको र उनीहरुको प्रोत्साहनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिएको बताए । उनले कोडिभ नियन्त्रणसम्बन्धी उच्चस्तरीर समितिले गरेको निर्णय सबै ७५३ वटै स्थानीय निकायलाई निर्देशन गरिएको र आवश्यक जानकारी पनि उनीहरुबाटै लिइरहेको जानकारी दिए ।

मन्त्रालयले गत चैत ४ गते नै सातवटै प्रदेशमा सातजना उपसचिव सम्पर्क व्यक्ति तोकी निजहरुमार्फत स्थानीय तहसँग सम्पर्क, समन्वय र सहजीकरण तथा सूचना व्यवस्थापनको काम निरन्तर भइरहेको उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button